तेश्रो चरणको लकडाउनलाई थप प्रभावकारी बनाउने धनुषा प्रहरीको योजना



जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाले तेश्रो चरणको लकडाउनलाई प्रभावकारी बनाउन थप कडाई गरेको छ ।

कोरोना भाइरसबाट भयावह स्थिती आउन सक्ने भन्दै चैत ११ गतेदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको हो । तेश्रो चरणको लकडाउन आज (मंगलबार) राती १२ बजेदेखि लागु हुँदैछ ।

यसअघिको दुई चरणको लकडाउन केही खुकुलो देखिएपछि स्थानीय प्रशासनले धनुषामा तेश्रो चरणको लकडाउनलाई थप कडाईका साथ कार्यान्वयन गर्ने योजना बनाएको छ ।

सवारीसाधन चलाएर सरकारको निर्देशनलाई पालना नगरी लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीले धनुषा जिल्लाका विभिन्न स्थानहरुबाट चैत ११ गतेदेखि २५ गतेसम्ममा ४ सय ७९ थान मोटरसाईकल,१ सय १० थान चार चक्का र १५ थान ई-रिक्सा गरि ६ सय ४ थान सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै लकडाउनको अवधिमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा कालोबजारी गरेको भन्दै प्रहरीले १८ जना कालोबजारीलाई पक्राउ गरेर हिरासतमा राखेका छन् भने लकडाउन उल्लंघन गर्ने १ सय ४९ जना मानिससँग एक सय रुपैयाँ जरिवाना तिराई आफन्तको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले सरकारले देशभर लकडाउन गरेको तेश्रो चरणको अवस्थामा पनि केहि व्यक्तिले निर्देशनको पालना नगरि अटेर गरेकाले उनीहरूलाई सवारी साधनसहित नियन्त्रणमा लिइएको बताए ।

यसैबीच जनकपुरको रेल्वे स्टेशननजिकको तरकारी बजारलाई बन्द गरिएको छ । भीडभाड बढेपछि स्थानीय प्रशासनको व्यापक आलोचना हुँदा मंगलबारदेखि तरकारी बजार बन्द गराइएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भीडभाड धेरै भएपछि रेल्वे स्टेशननजिकको तरकारी बजार बन्द गराइएको बताए । उनले भने,‘आमनागरिकलाई सुविधा होस् भनेर तरकारी बजार संचालन गर्न अनुमति दिएका थियौं, तर अव्यवस्थित भयो, भीडभाड बढेर सामाजिक दूरी पालना भएन, त्यसैले बन्द गरायौं ।’ विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले देशभर गत चैत ११ गते मंगलबार बिहान ६ बजेबाट लकडाउन घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्