भारतको अस्पतालबाट भागेका कोरोना सङ्क्रमित नेपाली फेला परे



भारत : भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राती भागेका एकजना नेपाली कोरोनाभाइरस सङक्रमित फेला परेको त्यहाँका प्रहरी प्रमुखले जानकारी दिएका छन्।

धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ। शुक्रवार उनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो।

तर सोमवार राती अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।

सङ्क्रमित सुनसरीका: भारतीय प्रहरी

बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने, “हामीले १० टोली परिचालन गरेका थियौँ। अहोरात्र काम गर्यौँ र अहिले पनि हामी फिल्डमा नै छौँ।”

“भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ।”

उनका अनुसार ६५ वर्षका ती व्यक्तिलाई एक्ल्याएर कोभिड-१९ को उपचार गरिनेछ। बागपतका प्रहरी प्रमुख यादव भन्छन्, “हामी उनी किन भागे भनेर बुझ्न खोज्छौँ। उनी पीडित हुन्। हामी उनको स्वास्थ्यको हेरविचार गर्छौँ।”

“हामीलाई चिकित्सकहरूले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ। तर तनाव वा अरू कारणले उनी भागेका हुन सक्छन्।” खेकडाको अस्पतालमा कोभिड-१९ को उपचार गराइरहेका उनी एकमात्र व्यक्ति भएको प्रहरीको भनाइ छ।

अस्पतालमा नै एक्लो बिरामी भएपछि उनी भागेको हुनसक्ने र अब जिल्ला अस्पतालमा उनलाई पठाइने यादव बताउँछन्। ती व्यक्ति २८ जना सम्मिलित जमातको साथ लागेर भारत पुगेका थिए।

उक्त समूहका २७ जनामा सङ्क्रमण नदेखिएपनि उनीहरू बागपतमा नै क्वारन्टीनमा रहेको स्थानीय प्रहरी प्रमुखले जानकारी दिए।

यसअघि प्रहरीले अस्पतालबाट भागेका ती व्यक्तिले अरूमा पनि सङ्क्रमण गराउन सक्ने भन्दै उनलाई देख्ने बित्तिकै सूचना दिन अनुरोध गरेको थियो। भारतको राजधानी दिल्लीबाट बागपत झण्डै ५० किलोमिटर टाढा पर्छ।

कोभिड-१९ विरुद्ध लकडाउन घोषणा भएपछि २,१०० भन्दा बढी नेपाली भारतमै क्वारन्टीनमा रहेको प्रधानमन्त्री केपी ओलीले मङ्गलबार आफ्नो सम्बोधनमा उल्लेख गरेका थिए। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्