लकडाउन प्रभावित परिवारका लागि हिन्दु स्वंमसेवक संघको राहत वितरण अभियान



वीरगन्ज : हिन्दु स्वमं सेवक संघ र एकल विद्यालय फाउन्डेशन वीरगन्ज चेप्टरले लकडाउनबाट प्रभावितहरुको लागि राहत वितरण गर्ने अभियान चलाएको छ ।

वीरगन्ज लगायत यस क्षेत्र आसपासमा रहेको अतिविपन्न परिवारलाई पहिचान गरेर संघले राहत स्वरुप अति आवश्यक खाद्यान्न वस्तुहरु उपलब्ध गराउने अभियान संचालन गरेको हो ।

संघले तयार गरेको राहतको प्याकेटमा चालम, दाल, नुन, तेल, चिउरा, साबुन, आलु र प्याज रहेको छ । मंगलबार मात्र ४ सय ५० घर परिवारलाई राहत स्वरुप राहतको प्याकेज उपलब्ध गराएको संघका सभाग कार्यवाह रंजित साहले बताए । संघले राहत उपलब्ध गराउनको लागि स्वंम सेवक समेत परिचालन गरेको छ ।

राहत वितरणको लागि संघकै स्वंम सेवकले स्वंम टोल टोलमा पुगि अतिविपन्न परिवारलाई पहिचान गरेर राहत उपलब्ध गराउने गरेको उनले बताए । लकडाउनको पालना गर्दै वीरगन्ज १६ गणेश टोलमा रहेको संघका कार्यालय केशवधामबाट नै राहत वितरण गर्ने गरिएको उनले बताए ।

स्वंम सेवकले पहिचान गरेको व्यक्तिलाई टोकन वितरण गरेको छ र त्यो टोकन मार्फत संघको कार्यालयबाट राहत उपलब्ध गराउँने काम हामीले गरेका छौं, उनले भने । पहिलो चरणमा ५ सय ५० घर परिवारलाई राहत वितरण गरेको हो । उनले भने, ‘मंगलबार ४ सय ५० घरपरिवारलाई राहत उपलब्ध गराई सकेका छौं, भोलीसम्म राहत वितरणको पहिलो चरणको लक्ष्य पुरा गर्ने छौं ।’

सरकारले तेश्रो चरणको लकडाउन घोषणा गरेका कारण थप प्रभावित हुने अतिविपन्न परिवारलाई निरन्तरण राहत वितरण गर्दै जाने उनले बताए । राहत वितरणसंगै कोरोनाको संक्रमणबाट जोगिनको लागि प्रत्येक परिवारमा ३ देखि ४ वटा माक्ससमेत उपलब्ध गराउँदै आएको उनले बताए ।

कुनै पनि व्यक्तिहरु लकडाउनले गर्दा भोकै वस्नु नपरोस् भन्ने उदेश्य राखेर संघ र एकल विद्यालय फाउन्डेशनले राहत वितरणको अभियान चलाएको हो । देशमा आपत विपत आएको बेला संघ र संघबाट आवद्ध संगठनले नेपाली जनताको राहत र उद्दारमा दिन रात नबुझी आफ्नो कर्तव्य निर्वाहमा पछि हट्दैन ।

प्रतिक्रिया दिनुहोस्