सर्वोच्चको आदेश-‘सीमामा रोकिएकालाई नेपाल आउन दिनु’



काठमाडौं : सर्वोच्च अदालतले नेपाल-भारत सीमामा अलपत्र नागरिकलाई स्वदेश फर्कन दिन आदेश दिएको छ। सीमामा अलपत्र रहेका र नेपाल आउन चाहने नागरिकलाई नेपाल ल्याएर अनिवार्य क्वारेन्टाइनमा राख्न तथा त्यसो गर्न सम्भव नभए भारतमै खान, बस्न र उपचारको व्यवस्था गर्न आदेश दिएको हो।

न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले सीमानामा अलपत्र नेपालीलाई ल्याउनल आदेश गरेको हो। त्यस्तै सर्वोच्चले विदेशमा रहेका नागरिक समेत नेपाल फर्कन चाहेमा फर्कने व्यवस्था मिलाउन पनि आदेश गरेको छ।

यस्तो छ विदेशमा रहेको नेपालीको संरक्षणमा सर्वोच्च अदालतले दिएको आदेश:

१) बिदेशमा खान, बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा बिपतमा परेका नेपाली नागरिकहरूको पहिचान गरि नेपाल फर्कन चाहने ईच्छुक नेपाली नागरिकहरूलाई सम्वन्धित मुलुकसंग कुटनैतिक माध्यमवाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नू गराउनू, उक्त कार्य तत्काल संम्भव नभएको अबस्थामा निजहरूलाई तत् तत् स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रवन्ध गरी नागरिकहरुको हक हितको रक्षा गर्ने ब्यबस्था मिलाउन आवश्यक पहल गर्नू। 

२) यसरी सो बमोजिम नेपालीहरू विदेशबाट नेपाल आएको अबस्थामा आएका सम्पूर्ण व्यक्तिहरुको नाम, थर, वतनसहितको अद्यावधिक लगत राखेर मात्र नेपाल प्रवेश गराउने व्यवस्था मिलाउनु। निजहरूलाई क्वारेन्टाईनमा राख्नु। 

३) नेपाल भारतको सिमामा रहेका नेपाल आउन ईच्छुक नेपाली नागरिकहरूलाई नेपालमा ल्याई निश्चित समय क्वारेनटाईनमा राख्ने ब्यबस्था मिलाउनू, त्यस्तो प्रवन्ध गर्न तत्काल सम्भव नभएमा भारत सरकारसँग समन्वय गरी लकडाउन अवधिसम्मका लागि निजहरुलाई खाने, बस्ने तथा उपचारको यथोचित व्यवस्था मिलाउन पहल गर्नु। 

४) क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई डब्लुएचओको मापडण्डअनुसार स्वास्थ उपचार लगाएतका सेवा प्रदान गर्ने ब्यबस्था गरि क्वारेन्टाईनलाई व्यवस्थित तवरले संचालन गर्ने व्यवस्था मिलाउनु। 

५) विदेशमा रहेका नेपालीहरुको भिसा समाप्त भएको वा राहदानीको म्याद समाप्त भएको कारणवाट कुनै समस्या पर्ने अवस्था भएमा त्यस्ता नेपाली नागरिकहरु रहेको मुलुकसँग समन्वय गरी नेपाली नागरिकहरुको विदेशको बसाई नियमित गर्ने व्यवस्था मिलाउनु। 

प्रतिक्रिया दिनुहोस्