लकडाउन उल्लंघन गर्ने ६ सय भन्दा बढी सवारी साधन पर्सामा कारवाही



वीरगन्ज : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेको लकडाउन तेश्रो चरणमा प्रवेश गरेलगत्तै पर्सा जिल्लाको सुरक्षा व्यवस्था अझ कडा बनाइएको छ ।

लकडाउनलाई थप प्रभावकारी बनाउन पर्सामा चेकजाँच कडाई गर्नुका साथै लकडाउन उल्लंघन गर्ने सवारी साधन पनि धमाधम नियन्त्रणमा लिने काम भएको प्रहरीले जनाएको छ ।

वीरगन्जको घण्टाघर चौक, आर्दशनगर, माईस्थान, अलखिया लगायतको चोकबाट लकडाउन उल्लंघन गर्ने मोटरसाइकल, जीप, कार, ट्रक, बस लगायत ६ सय ८४ वटा सवारीसाधनलाई पक्राउ गरी कारवाही गरिसकेको छ । यसअघि अतिआवश्यक वस्तु खरिद विक्रीको लागि खुकुलो बनाईएको थियो । तर समान खरीदको नाममा सवारीसाधन दुरुपयोग हुन थालेपछि कारवाही तिव्र बनाईएको स्थानिय प्रशासनले जनाएको छ ।

कारवाही गरिएको सवारी साधनबाट २ लाख २० हजार राजश्व समेत संकलन भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । लकडाउन उल्लंघन गरेको आरोपमा ७ जना व्यक्तिलाई पक्राउ गरी कारवाही समेत गरिएको छ ।

हाम्रो राजश्व संकलन गर्ने लक्ष्य होईन, उनले भने, लकडाउनलाई कसरी प्रभावकारी रुपमा बनाउँन सकिन्छ त्यसमा केन्द्रित भई बाध्य भएर लकडाउनको उल्लंघन गर्नेलाई कारवाही गर्ने प्रक्रिया अगाडी बढाएका हौं ।

अहिले पनि लकडाउनको उल्लंघन गर्ने मोटरसाइकल लगायतका करिब २ सय सवारीसाधनलाई नियन्त्रणमा लिएको छौं । अब जरिवाना काट्दैनौ उनले भने लकडाउन अवधिसम्म पक्राउ परेका सवारीसाधनलाई नियन्त्रणमा राख्ने छौं ।

एक अर्काबाट नै कोरोनाको संक्रमण फैल्न सक्ने भएकोले लकडाउनलाई थप प्रभावकारी बनाउन रणनीति नै बनाएर अगाडी बढेको उनले बताए । एक अर्का गाउँपालिका, नगरपालिका वा महानगरपालिकामा अतिआवश्यक बाहेक पूर्ण रुपमा आवत जावतमा समेत रोक लगाइएको छ ।

पर्साको पकाहा मैनपुर गाउँपालिकाको ना ३ ख ७३४३ नम्बरको राहतको समाग्री लिन वीरगन्ज प्रवेश गरेको टिपरलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । यदपी नियन्त्रणमा लिएको २ घण्टापछि प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि छाडिएको प्रहरीले जनाएको छ ।

मंगलबार वीरगन्जको घण्टाघर चौकमा चेकजाँचमा खटेका प्रहरीले चेकजाँच गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयबाट ईजाजत नलिएको भन्दै ट्रिपरलाई नियन्त्रणमा लिएको डिउटीमा खटेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्