भरतपुरमा परीक्षण गरिएको २१ नमुना नेगेटिभ



चितवन : भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा पहिलोपटक परीक्षण गरिएका २१ वटा नमुना नेगेटिभ देखिएको छ ।

सोमबार विभिन्‍न अस्पतालबाट संकलन भएका नमुनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्‍चालन उपसमिति संयोजक डा. कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट संकलन भएको १६, रत्‍ननगरको गुञ्‍जमान अस्पतालबाट पठाइएको एक र प्रयोगशालामै संकलित चार नमुनाको परीक्षण गरिएको हो ।

भरतपुर अस्पताल, निजी मेडिकल कलेज र अस्पतालले नमुना कोरोना अस्पतालमा पठाउँछन् । शर्माका अनुसार आजबाट सबै नमुना बिहान १० बजेभित्र कोरोना अस्पतालमा संकलन भई ११ बजेसम्ममा प्रयोगशालामा पुर्‍याएर परीक्षण थालिनेछ ।

पोजेटिभ देखिए सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराइनेछ । अन्यको नतिजा भोलिपल्ट १० बजे सार्वजनिक गर्ने गरी तालिका मिलाइएको छ । आज नतिजा आएका बिरामी अस्पतालको आइसोलेसन, क्‍वारेन्टाइन र होम क्‍वारेन्टाइनमा छन् ।

अस्पताललाई सामग्री
भरतपुर अस्पतालको ५७औं वार्षिकोत्सवको अवसरमा श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले सम्भावित कोरोना भाइरसको जोखिम हुन नदिन ती सामग्री सहयोग गरेको र ती सामग्री मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँमा खरिद गरिएको बताए ।

कलेजका छात्रछात्राको प्रयोगात्मक कक्षा सो अस्पतालमा हुने गर्छ । कलेजमा प्रवीणता प्रमाणपत्र तह र स्‍नातक तहका स्वास्थ्यसँग सम्बन्धित विषयमा पढाइ हुन्छ ।

अस्पतालमा प्रयोगात्मक कक्षामा सहभागी भएबापत वार्षिक रुपमा सबैभन्दा बढी रकम बुझाउने पनि सोही कलेज हो । सो भाइरसको जोखिम हुन नदिन अस्पताललाई विभिन्‍न संघ(संस्थाले सहयोग गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्