कोरोना अपडेट : नयाँ संक्रमित भेटिएका छैनन्, ९ हजार क्वारेन्टाइनमा



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो दिनमा नयाँ संक्रमित फेला नपरेको जानकारी दिएको छ ।

मन्त्रालयले मंगलबार नियमित पत्रकार सम्मेलनमा नेपालको पछिल्लो कोरोना भाइरस अपडेट गराएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विभिन्न देशबाट नेपाल प्रवेश गरेका र कोरोना आशंकामा ९ हजार बढी क्वारेन्टाइनमा रहेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) आशंकामा अहिलेसम्म देशभर ९ हजार २ सय २८ जना क्वारेन्टाइनमा राखिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए।

देवकोटाका अनुसार अहिले काठमाडौं उपत्यकामा १६ जना र बाहिर ८४ जना गरेर एक सय जना आइसोलेसनमा छन्। अहिलेसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये एकजना निको भएका छन्।

अहिले काठमाडौं बाहिरका ९ ठाउँमा कोरोना परीक्षण सुरु भएको छ। सरकारले कोरोना संक्रमण बढी देखिएको कञ्चनपुर र कैलालीमा परीक्षणको दायरसमेत बढाएको छ।

‘कोरोना परीक्षणको दायर बढाउने क्रममा कञ्चनपुर र कैलालीमा र्यापिड किट र स्वाबको नमुना संकलनको काम भइरहेको छ’, प्रवक्ता देवकोटाले भने, ‘अहिलेसम्म आज कञ्चनपुरमा २१ र कैलालीमा १८ जनाको नमुना संकलन भएको छ। ’

त्यसैगरी जुम्ला र अछाममा पनि स्वाबको नमुना संकलन सुरु भएको छ। प्रवक्ता देवकोटाले ४ सय ५० बढी नमुना संकलनको लक्ष्य लिएको जानकारी दिए। अहिले हरेक जिल्लाका चारचार ठाउँबाट नमुना संकलन भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्