नुवाकोटको सिन्दूरे जात्रा स्थगित



नुवाकोट : सामान्य दिनचर्या भएको भए अहिले नुवाकोटको भैरवी मन्दिर परिसरमा पुजारी, गुभाजु, द्वारे, स्थानीय नेवार समुदाय, लच्याङका तामाङ समुदाय र नेपाली सेनालाई भ्याइनभ्याइ हुन्थ्यो । चैत शुक्लपूर्णिमामा सञ्चालन हुने नुवाकोटको सबैभन्दा ठूलो मेला सिन्दूरे जात्रा सञ्चालनको चाँचोपाँचो मिलाउन उनीहरु व्यस्त हुन्थे ।

तर यो वर्ष कोभिङ–१९० रोगको सङ्क्रमण फैलन सक्ने जोखिमले सरकारले लकडाउन गरेको कारण सिन्दूरे जात्रा स्थगित गरिएकोले जात्रासँग सम्बन्धित सबै आआफ्नो घरघरमा लकडाउनलाई पालना गरी बसिरहेका छन् । यो वर्ष जात्रा चैत २८ गते परेको थियो भने चैत २६ गते चैत शुक्लपूर्णिमा तिथी रहेको छ ।

जात्राको शुरु देखिको सबै प्रक्रिया स्थगित गरिएको भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीले बताए । ‘सिन्दूरे जात्रा भनेर प्रमुख जात्रा भए पनि चैते दशैँको भोलिपल्ट देखिनै यसको विभिन्न विधि शुरु हुन्छ । यो वर्ष देवीघाट जाने, अक्षता उठाउने, महाबली लिनेजस्ता कुनै पनि कामहरु गरिएनन्’, द्वारे शाहीले भने ।

नुवाकोटको भैरवी मन्दिर र देविघाटको जालपा मन्दिरमा सञ्चालन हुने यो जात्रा नेपालकै धेरै दिनसम्म चल्ने जात्रामध्ये एक हो । लामो रथयात्रा हुने मेलामा पनि यहाँको भैरवीको रथयात्रालाई लिने गरिन्छ । त्रैयोदशीमा लिंगो उठाउने, चतुर्दशीको दिन भैरवीको रथ यात्रासहित देविघाटको जालपा मन्दिर जाने, त्यहाँ पूर्णिमाको दिन बिहान पूजालगायत भोग खाने, परेवाको दिन खाल्चा र द्धितीयको दिन नुवाकोटको भैरवी मन्दिरमा सिन्दूरे जात्रा गरिने यो अवसरमा हजारौँको सहभागिता हुने गर्दथ्यो । रथयात्राको क्रममा बाटोमा रथपूजा र धामीधमिनीको पूजाको लागि हजारौँ सहभागी हुने गर्दथे ।

कोरोनाको जोखिम बढ्ने भएकाले स्थागित गरिएको जात्रा गुभाजुलाई हेराएर वैशाख शुक्ल पूर्णिमामा पनि गर्न सकिने भएकाले स्थिति सामान्य भए वैशाखमा मेला गर्न सकिने द्वारे शाहीले बताउनुभयो । सिन्दूरे जात्रा २०११ सालमा तत्कालीन राजा त्रिभुवनको निधन हुँदा स्थागित भएको थियो ।

हजारौं जात्रालु जिल्लाभर र अन्य जिल्लाबाट पनि आउने मेला भएकोले अहिलेको अवस्थामा स्थगित गर्नुको विकल्प नभएको नुवाकोट सम्पदा मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्