बेलायतका प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएन



न्डन : कोरोनाभाइरस संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई चिकित्सकको सल्लाह अनुसार सोमबार राति नै सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ ।

बेलायती एक वरिष्ट मन्त्री माइकल गभले प्रधानमन्त्री जोन्सनलाई अक्सिजन दिइएको तर भेन्टिलेटरमा नराखिएको जानकारी दिए ।

बेलायतको एलबिसी रेडियोलाई अन्तर्वार्ता दिँदै गभले भने, “प्रधामन्त्रीलाई अक्सिजन दिइएको छ । स्वास्थ्य अवस्था विचार गरी आवश्यक भएमा भेन्टिलेटरमा राखिनेछ ।”

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेमध्ये प्रधानमन्त्री जोन्सन सबैभन्दा उच्चपदस्थ राजनीतिज्ञ हुन् ।

कोरोनाभाइरसको संक्रमण भएदेखि नै ५५ वर्षीय प्रधानमन्त्री जोन्सन एकान्तबास (आइसोलेसन) मा बस्नु भएको थियो । तर उहाँमा कोरोनाभाइरसको संक्रमण बढी खतरापूर्ण स्थितिमा पुगेको भन्दै चिकित्सकको सल्लाहमा आइतबार लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको हो ।

प्रधानमन्त्री जोन्सनलाई विगत १० दिनदेखि उच्च ज्वरो र सुक्खा खोकी समेतका कोरोनाभाइरसका लक्षणहरु देखिएका थिए । सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि प्रधानमन्त्री होसमै रहेका प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार प्रधानमन्त्री जोन्सनले सरकारका तर्फबाट गर्नुपर्ने कार्यहरु सम्पादन गर्न विदेशमन्त्री डोमिनिक राबलाई जिम्मेवारी दिनु भएको छ । तर विदेशमन्त्री राबले आफूले प्रधानमन्त्रीसँग गत शनिबारदेखि कुराकानी गर्न नपाएको स्पष्ट गर्नु भएको छ । तर उनले “सरकारी कामकारबाही यथावत र बिना अवरोध रहनेछन्” भने ।

विदेशमन्त्री राबले प्रधानमन्त्रीको उपचारमा कुनै कमी नभएको र उपचारमा उत्कृष्ट चिकित्सा टोली संलग्न रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्