मुख्यमन्त्री पोखरेल भन्छन् : ‘कोरोनाविरुद्ध उच्च सावधानी’



काठमाडाैं : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्दै प्रदेशलाई सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरिएको बताउनुभएको छ । झन्डै चार सय किलोमिटर खुला सिमानाको चुनौती रहेको यो प्रदेशमा उच्च सावधानीकै कारण अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन ।

मुख्यमन्त्री पोखरेलले भने, अहिलेसम्म हामी सुरक्षित छौं तर जोखिमबाट मुक्त छैनौं, कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छौं।

अस्पताल र प्रयोगशाला

मुख्यमन्त्री पोखरेलका अनुसार कोरोनाविरुद्धको लडाइँमा प्रदेशले उपचार संयन्त्र र संरचनालाई प्रभावकारी बनाएको छ । प्रदेशभर कोरोना विशेष चारवटा अस्पताल तयारी अवस्थामा छन् । बुटवलको धागो कारखानामा सञ्चालित अस्पताल स्तरीय र व्यवस्थित भएको छ । अन्य अस्पताललाई पनि स्तरीय बनाइँदैछ । बिरामी कहाँ राख्ने भन्ने समस्या छैन । जनशक्तिको प्रबन्ध पनि भइसकेको छ ।

प्रदेशमा तीनवटा कोरोना प्रयोगशाला सञ्चालनमा आउँदैछन् । रुपन्देहीमा आइतबारबाट प्रयोगशाला सञ्चालनमा आइसकेको छ । नेपालगन्जको प्रयोगशालामा उपकरण ल्याइँदैछ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि तयारी तीव्र पारिएको छ । मुख्यमन्त्री भन्छन्, ‘यो अवस्थालाई अवसरका रूपमा लिँदै यी प्रयोगशालालाई अन्य सबै प्रकारका सरुवा रोगको परीक्षण गर्न मिल्ने गरी दीर्घकालीन महìवका बनाइँदैछ ।

सम्पूर्ण शक्ति केन्द्रित

अहिलेसम्म प्रदेशमा कोरोनाको सङ्क्रमण देखिएको छैन । रुपन्देहीमा शुरू भएको प्रयोगशालाको पहिलो परीक्षणमा सङ्क्रमण नदेखिएपछि सुरक्षाको उत्साह सञ्चार भएको छ । मुख्यमन्त्री पोखरेलको भनाइमा उच्च सतर्कता र सावधानीका कारण अहिलेसम्म यस्तो सम्भव भएको हो तर जोखिमबाट मुक्त नभएकाले अझ उच्च सतर्कता जरुरी छ ।

कोरोनामुक्त प्रदेश बनाउन सम्पूर्ण शक्ति केन्द्रित गरी व्यवस्थित कार्ययोजना बनाइएको छ । विभिन्न संयन्त्र उच्च मनोबलका साथ सक्रिय छन् । एक प्रदेशबाट अर्को प्रदेशमा आउने जानेलाई अलग गरिएको छ । दक्षिणी सीमामा निगरानी र सुरक्षा बढाइएको छ ।

क्वारेन्टाइनमा सबैभन्दा अगाडि

क्वारेन्टाइन र आइसोलेसन कक्षहरूको निर्माणलाई तीव्रता दिइएको छ । उनका अनुसार प्रदेशभरका स्थानीय तहमा त्यस्ता संरचना बनाउन भनिएको छ । अहिलेसम्म चार हजारभन्दा बढी क्वारेन्टाइन बनिसकेका छन् । बाहिरबाट आएका झन्डै दुई हजार जना क्वारेन्टाइनमा छन् । मुख्यमन्त्री पोखरेलले भने, ‘सम्भवतः देशमै सबैभन्दा धेरै क्षमताका क्वारेन्टाइन यो प्रदेशमा निर्माण भएका छन् । क्वारेन्टाइनमा बस्नेको सङ्ख्या पनि अन्यत्रभन्दा धेरै छ ।’

लकडाउनको पालना

सुरुमा सीमा क्षेत्रमा समस्या देखिए पनि पछिल्ला दिनमा लकडाउनको पालनाका निकै सुधार आएको र नागरिक सचेत भएका छन् । सबैले अनुशासनपूर्वक पालना गरिरहेका छन् । सीमा क्षेत्र पुगेका दुवै देशका नागरिकको सुरक्षाबारे एकअर्काले जिम्मा लिने सहमति नेपाल–भारतबीच भएपछि वातावरण सहज बनेको छ ।

सङ्कट व्यवस्थापन केन्द्र

कोरोनाविरुद्ध प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमा काम गर्न मुख्यमन्त्रीको अध्यक्षतामा गठित सङ्कट व्यवस्थापन केन्द्र सक्रिय छ । मुख्यमन्त्री पोखरेलका अनुसार केन्द्रले अस्पतालभित्रको सुरक्षा, केन्द्रीय कमान्डमा अस्पताल सञ्चालन, आउन नमान्ने सङ्क्रमितलाई अस्पतालमा ल्याउने प्रबन्ध र मानवीय क्षति भएमा अन्तिम संस्कारको वैकल्पिक प्रबन्ध गर्नेछ ।

पर्याप्त सुरक्षा र सुविधा

प्रदेश सरकारले उपचारमा खट्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन विभिन्न आकर्षक सुविधा र सुरक्षा प्रदान गर्ने भएको छ । शतप्रतिशत भत्ता र दोहोरो सुविधा पाउनेछन् । सरकारले खाने, बस्ने, उपचार र बिमाको व्यवस्था गर्नेेछ । प्रदेश सरकारले १० करोड रुपियाँ जम्मा गरेर कोरोना नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ ।

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका लागि खाद्यान्न र राहतका लागि प्रदेश सरकारले विशेष रणनीति अपनाएको छ । ‘हामी नजिकबाट निगरानी गरिरहेका छौँ । कतै कमी र अभाव भएमा पूर्ण तयारी अवस्थामा छौं। त्यस्तो बेला वार्षिक बजेट रकमान्तर गरेर प्रदेशका लागि आवश्यक न्यूनतम खर्चको व्यवस्था आफैँ गर्न सक्नेछौँ’, उनले स्पष्ट पारे। गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्