फ्रान्सबाट आएकी युवती जसको सावधानीले फैलिन पाएन संक्रमण



म पेरिसबाट दोहा हुँदै आज काठमाडौं आएँ । यहाँको परिस्थिति लाजमर्दो रहेछ । विमानस्थलको हेल्थ डेस्कमा एउटै व्यक्ति थिएन । हामीलाई कुनै फर्म भर्न दिइएन । न त अध्यागमनले नै केही सोधपुछ गर्‍यो । फ्रान्स, जहाँ राज्यले व्यवस्थित लकडाउन गरेको छ । त्यस्तो ठाउँबाट आउँदा मलाई लागेको थियो, यहाँ झन् व्यवस्थित चेकजाँच हुन्छ । म आएको जहाजमा नेपाली नै धेरै थिए । हामीलाई यहाँको अवस्थाबारे जति जानकारी दिनुपर्ने थियो, त्यो दिइएन । विमानस्थलमा ओर्लिएपछि बसमा भीडभाड, सामान बुझ्ने ठाउँमा पनि उस्तै भीड । इमानदारीसाथ भन्नुपर्दा यो लज्जास्पद अवस्था हो, यो अवस्थामा नेपालमा एकजना मात्रै कोरोना संक्रमित छन् भन्नु भ्रमपूर्ण छ ।’
(फ्रान्सबाट काठमाडौँ ओर्लिएलगत्त युवतीले सामाजिक सञ्जालमा लेखेको स्टाटस)

फ्रान्सबाट आएकी युवतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन् । यस्तो शैलीले कोरोना नियन्त्रण हुन सक्दैन भनेर उनले सरकारको ध्यानाकर्षण पनि गराएकी थिइन् । यति मात्र होइन, परिवारसँग समेत उनले दूरी कायम गरेकोले संक्रमण फैलिन पाएन । परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

४ चैतमा फ्रान्सबाट आएकी काठमाडौं मैतिदेवीकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो । नेपालमा यो दोस्रो केस थियो । उनले विमानस्थलदेखि नै सावधानी अपनाउँदा कसैलाई संक्रमण नभएको ‘कन्ट्याक्ट ट्रेसिङ’बाट पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डले भने, ‘सावधानी अपनाउँदा उहाँबाट कसैलाई पनि संक्रमण भएन, सचेत हुनुहुँदो रहेछ । उहाँले आफू र धेरैलाई जोगाउनुभएको छ, सबै यसैगरी जिम्मेवार हुने हो भने कोरोना नियन्त्रण गर्न सहज हुन्छ ।’

ती युवती कतार एयरको क्युआर ६५२ फ्लाइटमा दोहा हुँदै नेपाल आएकी थिइन् । उनलाई लिन बुबा विमानस्थल गएका थिए । विमानस्थलबाट आफ्नै निजी गाडीमा घरसम्म पुगेकी थिइन् । गाडीचालक, बुबा र युवतीले गाडीमा मास्क र स्यानिटाइजर प्रयोग गरेका थिए । उनी गाडीको पछिल्लो सिटमा अलगै बसेकी थिइन् । उनमा संक्रमणको लक्षण देखिएको थिएन, तर घरमा आएलगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन् । परिवारका सदस्यसँग भेटघाट मात्रै बन्देज गरिनन्, शौचालयसमेत बेग्लै प्रयोग गरेको स्वास्थ्यकर्मीलई बताएकी छिन् ।

आफूसँगै फ्रान्सबाट फर्किएकी भियतनामकी साथीलाई संक्रमण देखिएपछि उनी स्वदेश आएको चार दिनपछि आफैँ परीक्षणका लागि टेकु अस्पताल गएकी थिइन् । रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । हाल टेकु अस्पतालमै उपचाररत युवतीको दोस्रो परीक्षण पनि पोजेटिभ देखिएको छ । तर, स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । परिवारका सदस्यमा भने संक्रमण देखिएको छैन ।

‘उनका परिवारका व्यक्ति तथा चालक सबैको परीक्षण भइसकेको छ, कसैलाई संक्रमण देखिएको छैन,’ महाशाखाका प्रमुख डा. पाण्डेले भने । विमानमा उनको सिटआसपास बसेका १७ जनाको पनि परीक्षण भएको छ, रिपोर्ट नेगेटिभ आएको छ ।

युवतीमा संक्रमण पुष्टि भएपछि उनी र विदेशबाट आएका अन्यबाट काठमाडौंमा धेरैमा फैलिएको हुन सक्ने त्रासमा सरकार थियो । त्यसैले पनि ११ चैतदेखि सरकारले लकडाउन गरेको थियो । तर, युवतीले अपनाएको सावधानीका कारण काठमाडौंमा जोखिम केही हदसम्म कम भएको अनुमान गरेको छ । ‘उनले लापरबाही गरेको भए केही दिनमै काठमाडौंमा धेरैलाई संक्रमण फैलने जोखिम थियो,’ महाशाखाका एक अधिकारीले भने ।

ती युवतीसँगै विमानमा आएका बाग्लुङका दुईजनामा पनि संक्रमण पुष्टि भइसकेको छ । तर, विमानमा उनीहरू सँगै भने थिएनन् । बाग्लुङकी १९ वर्षीया युवती सिट नम्बर बी तथा ६५ वर्षीया महिला सिट नम्बर ईमा सँगै बसेका थिए । काठमाडौंकी युवती भने पछिल्लो सिटमा बसेकी थिइन् । बाग्लुङका दुई महिला बसेको सिटआसपासका १८ जनाको पनि परीक्षण भइसकेको छ ।

बाग्लुङका दुवै संक्रमित ४ चैतमा यती एयरलाइन्सबाट पोखरा गएका थिए । उनीहरूसँगै पोखरा गएकाहरूको समेत परीक्षण भइसकेको छ । त्यस्तै, विमानस्थलबाट बसपार्कसम्म ट्याक्सीमा तथा त्यहाँबाट बाग्लुङ स्कार्पियोमा सँगै गएका थिए । दुवैका परिवारको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । तर, उनीहरूले गाउँका अन्य व्यक्तिलाई पनि भेटेको भएकाले बाग्लुङमा फैलिएको आशंकामा ¥यापिड टेस्ट सुरु गर्न लागिएको छ ।

तीनजना संक्रमित आएको कतार एयरको जोखिम लगभग सकिएको बताइएको छ । सो विमानमा एक सय ५८ यात्रु सवार थिए । जसमध्ये १० जना सम्पर्कमा आएका छैनन् । संक्रमित आसपास बसेकाहरूको रिपोर्ट नेगेटिभ आएकाले जोखिम कम भएको हो ।

तेस्रो केसको जोखिम कायमै

नेपालमा देखिएको तेस्रो केस धादिङका युवकको हो । उनले भेटेका व्यक्तिहरूको पनि नेगेटिभ रिपोर्ट आएको छ । तर, उनले सार्वजनिक यातायात प्रयोग गरेकाले कन्टाक्ट ट्रेसिङ सकिएको छैन । उनले प्रयोग गरेको ट्याक्सी र बस नै अहिलेसम्म पत्ता लागेको छैन । उनी ६ चैतमा एयर अरेबियाबाट आएका थिए । विमानमा उनी बसेको सिटआसपासका यात्रु पत्ता लगाएर परीक्षणको काम भइरहेको छ ।

ती युवकले अरूलाई सारेको हुन सक्ने र जोखिम कायमै रहेको स्वास्थ्य सेवा विभागका अधिकारी बताउँछन् । लक्षण नदेखिए पनि संक्रमण हुन सक्ने भएकाले क्वारेन्टाइनमा दुई सातामा बसेर पनि थप एक साता घरमा अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

कैलाली र कञ्चनपुरमा सुस्त ट्रेसिङ

धनगढीका संक्रमित युवकको केसमा पनि कन्टाक्ट ट्रेसिङ भइरहेको महाशाखाले जनाएको छ । उनी ७ चैतमा भिस्तारा एयरबाट नयाँदिल्ली हुँदै काठमाडौं आएका थिए । वसुन्धारामा मामाघरमा बसेकोमा भोलिपल्ट बुद्ध एयरमार्फत नेपालगन्ज गएका थिए । त्यहाँबाट अटो र माइक्रो प्रयोग गरी अत्तरिया पुगेका थिए । उनको मामाको परिवारमा संक्रमण देखिएको छैन । उनले प्रयोग गरेका ट्याक्सी, अटो र माइक्रोको भने अहिलेसम्म पहिचान हुन सकेको छैन । उनको परिवारका एक सदस्यमा समेत संक्रमण भएको पुष्टि शनिबार भएको छ । जुन नेपालमा देखिएको पहिलो आन्तरिक संक्रमण हो । उनले छिमेकीसमेत भेटकाले संक्रमण फैलाएको आशंका गरिएको छ । तर, ट्रेसिङ चुस्त हुन सकेको छैन ।

भारतबाट आएका १९ वर्षीय संक्रमित युवकले पनि धेरैलाई फैलाएको आशंकामा कैलाली र कञ्चनपुरमा ¥यापिड टेस्ट सुरु भएको छ । उनीहरू भारतबाट भिडभाड छिचोल्दै आएका थिए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्