कोरोना संक्रमितलाई धमाधम मलेरियाको औषधि



काठमाडाैं : काेरोना संक्रमणले महामारीको रूप लिइरहेका वेला यसलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमा मलेरियाका लागि प्रयोग हुने औषधिको माग बढ्न थालेको छ । कोरोनाविरुद्ध औषधि तथा खोपको विकास नभइरहेको अवस्थामा विभिन्न मुलुकमा मलेरियाको औषधि प्रयोग हुन थालेको हो । विश्व स्वास्थ्य संगठनले क्लोरोक्विन र हाइड्रोएक्सवाइक्लोरोक्विनबाट कोरोना उपचार गर्ने पर्याप्त प्रमाण नभएको बताउँदा पनि यी दुई औषधिले विश्वको ध्यान तानेको छ । कोरोना भाइरसको उपचारमा ती औषधिको प्रभावकारिता कस्तो देखिएको छ र कुन देशले ती औषधि प्रयोग गरिरहेका छन् भन्नेबारे एक रिपोर्ट :

विज्ञहरू भन्छन्– साइड इफेक्ट गर्छ

कोरोना उपचारमा ती दुवै औषधि खासै प्रभावकारी नभएको पछिल्लो अवस्थाले देखाइरहेको छ । औषधिले काम गरेको भए अहिले हजारौँ मानिस मृत्युको मुखमा धकेलिँदैनथे । फ्रान्समा गरिएको एउटा अनुसन्धानमा पनि अहिले चर्चा भइरहेका दुवै औषधि कोरोना उपचारका लागि उपयोगी नहुने वैज्ञानिकले बताएका छन् । बरु यी औषधिले किड्नी र कलेजोलाई असर गर्नेलगायत अन्य साइड इफेक्ट हुने केही विज्ञको भनाइ छ । ‘यी औषधिको प्रभावकारिता मूल्यांकन गर्न बृहत् रूपमा परीक्षण गर्नुपर्छ,’ युनिभर्सिटी अफ अक्सफोर्डका कोम गिब्निगी भन्छन् । ती औषधिबारे अमेरिका, बेलायत, स्पेन, चीनलगायत देशमा परीक्षण भइरहेका छन् ।

ती औषधि कोभिड–१९ को असर कम गर्न सक्षम छन् वा छैनन् भन्ने पत्ता लगाउन ‘क्लिनिकल’ परीक्षण भइरहेको बेलायती मन्त्री मिसेल गोभ बताउँछन् । अमेरिकामा कोरोना संक्रमितको उपचार गर्न क्लोरोक्विन, हाइड्रोएक्सवाइक्लोरोक्विन र अर्को एन्टिबायोटिक औषधि जिथ्रोम्याक्सको मिश्रण गरी विभिन्न परीक्षण भइरहेका छन् ।

कुन–कुन देशले मलेरियाको औषधि कोरोनाका लागि प्रयोग गर्न अनुमति दिए ?

अमेरिकामा औषधिको इजाजत दिने खाद्यान्न तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) कोरोनाको उपचारका लागि मलेरियामा प्रयोग हुने औषधिलाई ‘आपत्कालीन प्रयोग’का लागि अनुमति दिएको छ । तर, सो औषधिले कोरोना निको हुने दाबी भने एफडिएले गरेको छैन ।

सरकारले भण्डारण गरेको केही त्यस्ता औषधिलाई विशेष अवस्थामा कोरोना उपचारमा अस्पतालले अनुरोध गरेर प्रयोग गर्न सक्ने सो निकायले जनाएको छ । कोरोना महामारीले अमेरिकी जनजीवन अस्तव्यस्त भइरहेका वेला जर्मनस्थित एक औषधि कम्पनीले ३ करोड हाइड्रोएक्सवाइक्लोरोक्विनको डोज अनुदानस्वरूप दिएको अमेरिकाले जनाएको छ । अन्य देशले पनि मलेरियाको उपचारमा प्रयोग हुने यी औषधि प्रयोग गरेका छन् ।

फ्रान्सले कोरोनाका बिरामीलाई ती औषधि प्रयोग गर्न अनुमति दिएको छ, तर सो औषधिले साइड इफेक्ट गर्ने देशको स्वास्थ्यसम्बन्धी निकायले चेतावनी दिएको छ । त्यस्तै, भारतको स्वास्थ्य मन्त्रालयले पनि कोरोनाको प्रारम्भिक उपचारका लागि हाइड्रोएक्सवाइक्लोरोक्विन प्रयोगका लागि सुझाब दिएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा रहेका घरमै बस्ने व्यक्तिले पनि डाक्टरको प्रेस्क्रिप्सनका आधारमा सो औषधि प्रयोग गर्न सक्ने जनाइएको छ । तर, भारत सरकारको अनुसन्धानसम्बन्धी निकायले मलेरियाको उपचारमा प्रयोग हुने सो औषधि कोरोना उपचारमा प्रयोग नगर्न चेतावनी दिएको छ । मध्यपूर्वका अधिकांश देशले पनि परीक्षणका लागि भन्दै कोरोना संक्रमितलाई धमाधम मलेरियाको औषधि खुवाउन थालेका छन् ।

कोरोना संक्रमितलाई हाइड्रोएक्सवाइक्लोरोक्विन प्रयोग गर्ने आफू पहिलो देश भएको बहराइनले दाबी गरेको छ । त्यस्तै मोरक्को, अल्जेरिया र ट्युनिसियामा पनि यसकोे व्यापक प्रयोग भएको छ । तर, त्यसको प्रभावकारिताबारे कुनै देशले बताएका छैनन् ।

के विभिन्न देशसँग मलेरियाको पर्याप्त औषधि छ ?

मलेरिया नियन्त्रण गर्ने औषधि कोरोना संक्रमितको सम्भाव्य उपचारमा तीव्र प्रयोग हुन थालेपछि विभिन्न देशमा यसको माग बढेको छ र औषधिको अभाव देखिएको छ । मलेरिया र यसको उपचारका लागि क्लोरोक्विन तथा योसँग सम्बिन्धत अन्य औषधि लामो समयदेखि विभिन्न औषधि पसलले बिक्री गर्दै आएका छन् । मलेरिया नियन्त्रण गर्ने विभिन्न देशका सरकारी प्रयासका बाबजुद पनि कतिपय देशमा यसको प्रकोप देखिइरहेका वेला यसको निरन्तर उत्पादन भइरहेको छ ।

अनधिकृत रूपमा यसको भण्डारण हुनबाट जोगाउन जोर्डनले हाइड्रोएक्सवाइक्लोरोक्विनलाई औषधि पसलमा बिक्री गर्न रोक लगाएको छ । त्यसैगरी कुवेतको स्वास्थ्य मन्त्रालयले पनि सरकारी अस्पताल र स्वास्थ्य केन्द्रमा मात्र ती औषधिलाई सीमित गरेको छ । केन्यामा प्रेस्क्रिप्सनविना ती औषधि बिक्री गर्न निषेध छ । मलेरियामा प्रयोग हुने हाइड्रोएक्सवाइक्लोरोक्विन उत्पादनका लागि भारत मुख्य देश हो । उसले आफूद्वारा उत्पादित औषधिको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

‘अनियन्त्रित प्रयोग असुरक्षित हुन सक्छ ’

नाइजेरियामा मलेरियाको उपचारका लागि मानिसले नियमितजसो क्लोरोक्विनमिश्रित ट्याबेलट नियमित प्रयोग गर्छन् । यसको प्रभावकारिता नदेखिएको भन्दै सरकारले सन् २००५ मा यो औषधिमाथि केही समय प्रतिबन्ध लगाएको थियो । क्लोरोक्विनले कोरोना नियन्त्रण हुने चर्चा चलेपछि फेब्रुअरीमा केही मानिसले धमाधम संग्रह गरेका थिए ।

अमेरिकामा ट्रम्पले नै सिफारिस गरेपछि त्यहाँका औषधि पसलले धमाधम यसको बिक्री गरिरहेका छन् । तर, नाइजेरियाको सरुवा रोग रोकथाम केन्द्रले यो औषधि प्रयोग नगर्न अनुरोध गरेको छ । ‘विश्व स्वास्थ्य संगठनले यसलाई प्रयोग नगर्न भनेकाले केन्द्र पनि यसको प्रयोगको विपक्षमा छ,’ नाइजेरियाको स्वास्थ्यसम्बन्धी निकायले भनेको छ ।

ट्रम्पले नै गरे सिफारिस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित बैठकमा कोरोनाको उपचारमा हाइड्रोएक्सवाइक्लोरोक्विन प्रयोग गर्न सकिने बारम्बार बताउँदै आएका छन् ।

हालै आयोजित एक पत्रकार सम्मेलनमा सो औषधिको सन्दर्भ कोट्याउँदै उनले भनेका थिए, ‘हाइड्रोएक्सवाइक्लोरोक्विन र क्लोरोक्विनजस्ता औषधि खाँदा केही फरक पर्दैन ।’ त्यस्तै, ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले पनि हाइड्रोएक्सवाइक्लोरोक्विनले सबै काम गर्ने भन्दै फेसबुकमा एउटा भिडियो पोस्ट गरेका थिए । तर, केही समयपछि फेसबुकले उनको पोस्ट हटाइदिएको थियो ।

मलेरिया उपचारमा प्रयोग गरिने क्लोरोक्विनमा ज्वरो र जलन घटाउने तत्व हुन्छ र सोही औषधिले कोरोना भाइरसलाई कमजोर बनाउने विश्वास गरिएको छ । ‘प्रयोगशालामा गरिएका अध्ययनमा क्लोरोक्विनले कोरोनाको प्रभाव न्यून गर्न सक्ने भनी चिकित्सकले सुझाब दिएका अपुष्ट प्रमाण भेटिन्छ,’ बिबिसीका स्वास्थ्य मामिला संवाददाता जेम्स जालागेर भन्छन् । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्