नेपालमा जम्मा २१ सय २२ को परीक्षण : कोरोना जाँच गर्ने २४ पिसिआर मेसिन प्रयोगविहीन



काठमाडाैं : वीर, पाटन र ठिमीको अस्पतालमा मात्र होइन, त्रिभुवन विश्वविद्यालय र विभिन्न अनुसन्धान केन्द्रमा भएका पिसिआर मेसिनले एकैपटक ९७ नमुना परीक्षण गर्छन्, तर सरकारले तिनलाई प्रयोग गर्न सकेको छैन, चीनबाट ल्याइएका मेसिनले भने एकपटकमा १५ नमुना मात्र परीक्षण गर्छन्

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएकोजस्तै कोरोना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन देशभर २९ छन् । तर, पाँचवटा मात्रै सञ्चालनमा छन् । कोरोना संक्रमण बढ्दै जाँदा पनि सरकारले बाँकी २४ मेसिन प्रयोगमा ल्याउन चासो देखाएको छैन ।

त्रिभुवन विश्वविद्यालयका आनुवंशिक वैज्ञानिक प्रा.डा. गिरिराज त्रिपाठीका अनुसार सरकारी र गैरसरकारी निकायमा रहेका ती मेसिन प्रयोगमा ल्याउन सके दैनिक पाँच हजारभन्दा बढीको कोरोना परीक्षण गर्न सकिन्छ । एउटा मेसिनले एक लटमा ९७ वटा नमुना परीक्षण गर्न सकिन्छ । जब कि चीनबाट हालै ल्याइएका पोर्टेबल पिसिआर मेसिनले एकपटकमा १५ वटा नमुना मात्रै परीक्षण गर्न मिल्छ ।

‘हामीसँग कोरोना जाँच गर्न सक्ने प्रविधि मात्रै होइन, प्राविधिक पनि पर्याप्त छन्,’ त्रिपाठीले भने, ‘समन्वय नहुँदा परीक्षणमा समस्या भएको मात्रै हो ।’ पोर्टेबल मेसिनको भन्दा यी मेसिनको प्रभावकारिता पनि कैयौँ गुणा राम्रो रहेको उनले बताए ।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा मात्रै तीनवटा पिसिआर मेसिन प्रयोगविहीन अवस्थामा छन् । ‘हामीले पहिलेदेखि नै कोरोना परीक्षण गर्ने अत्याधुनिक मेसिन छ भन्दै आएका हौँ, तर अहिलेसम्म पनि ती मेसिन प्रयोगमा ल्याइएका छैनन्,’ प्रयोगशालाका प्रमुख डा. टिकरदेव भट्टले भने ।

त्यस्तै, वीर अस्पताल, पाटन अस्पताल, लेलेको आनन्दवन अस्पताल, भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा पनि यस्ता मेसिन छन् । त्यस्तै त्रिभुवन विश्वविद्यालयका केन्द्रीय माइक्रोलोजी विभाग, केन्द्रीय बायोटेक्नोलोजी विभाग र ल्याबोरोटोरी अफ द एग्रो एन्ड बायोमेट्रिक रिसर्च सेन्टर, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा एक–एक मेसिन छन् । नयाँ बजारस्थित नेसनल कलेज, वाल्टर रिड एएफआरआइएमएस रिसर्च युनिट नेपाल, फरेन्सिक ल्याब खुमलटार, रिसर्च इन्स्टिच्युट फर बायोसाइन्स एन्ड बायोटेक्नोलोजी, सिनामंगलस्थित डिकोट जेनोमिक एन्ड रिसर्च सेन्टरमा मेसिन छन् ।

त्यस्तै, बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र पुल्चोक, सेन्टर भेटेनरी ल्याब्रोटरी टेकु, राष्ट्रिय क्षयरोग केन्द्र ठिमी, नयाँ बानेश्वरस्थित नेसनल रिफ्रेन्स ल्याब्रोटरी, नेपाल एग्रिकल्चर रिसर्च काउन्सिल खुमलटार, काठमाडौं सेन्टर फर जेनोमिक्स एन्ड रिसर्च ग्वार्को, सेन्टर फर मोलिकुलर डाइनामिक नेपाल (सिएमडिएन) र सेन्टर डाइग्नोस्टिक रिसर्च लेब्रोटरी कमलपोखरीमा भएका पिसिआर मेसिन पनि प्रयोगविहीन छन् ।

संक्रमण बढ्दै जाँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र माग धान्न नसक्ने भन्दै सरकारले अघिल्लो शनिबार चीनबाट पाँचवटा पोर्टेबल पिसिआर मेसिन ल्याएको छ । ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)मार्फत खरिद गरिएका ती मेसिनबाट पोखरा, बुटवल, सुर्खेत, धनगढी र जनकपुरमा पनि परीक्षण सुरु गरिएको छ ।

यीसहित अहिले देशका १० ठाउँबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल, कृषि तथा वन विश्वविद्यालय भरतपुर र कीटजन्य रोग नियन्त्रण केन्द्र, हेटौँडामा पिएसआर मेसिनबाट कोरोना परीक्षण भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना परीक्षणको दर बढ्दै गएकाले थन्किएका पिसिआर मेसिन पनि प्रयोगमा ल्याउने तयारी भएको बताए । ‘यो वेला समन्वय गरेर सबै मेसिन प्रयोगमा ल्याउनुपर्छ । क्रमशः नमुना संकलनको दर बढ्दै गएको छ । आवश्यक परीक्षणका लागि चाहिने रिएजेन्ट ल्याएर थन्किएका पिसिआर मेसिन पनि चलाउनुपर्छ,’ उनले भने ।

प्रा.डा. त्रिपाठीका अनुसार विश्वमा रियलटाइम पिसिआर मेसिन बनाउने तीन कम्पनी लाइकटेक, बायो र्‍याड र कायोजिन हुन् । नेपालमा भएका अधिकांश मेसिन बायो र्‍याड कम्पनीले बनाएका हुन् । यी प्रत्येक मेसिनलाई अहिले करिब २५ लाख पर्छ । पिसिआर मेसिन सञ्चालन गर्न चाहिने मोलिकुलर र रिएजेन्टहरू महँगो पर्छ, त्यसैले खरिद गर्ने निकायले नियमित सञ्चालनमा ल्याउन नसकेको त्रिपाठीले बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्