प्रहरीलाई नै छैन मास्क र पञ्जा



कपिलवस्तु : कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र परिचालित प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् । लकडाउनका समयमा सिमानाको सुरक्षामा खटिनेदेखि चोकचोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक मात्रामा सुरक्षाका सामग्री पाउन सकेका छैनन् । अधिकांश प्रहरीको हातमा पञ्जा छैन भने कतिपयले मास्कसमेत पाएका छैनन् ।

अहिले प्रहरी र स्वास्थ्यकर्मी नै कोरोना भाइरसविरुद्ध सबैभन्दा बढी खटिएका छन् । जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव खड्किएको छ । कपिलवस्तु प्रहरीले आफ्नै स्रोतबाट स्वास्थ्य सामग्री जुटाई सुरक्षा प्रबन्ध मिलाउँदै आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपररुक्षक दीपशम्शेर जबरा बताउँछन् । जिल्लामा करीब आठ सय सुरक्षाकर्मीमध्ये आधा सुरक्षाकर्मी क्वारेन्टाइनको सुरक्षामा खटिएका छन् । प्रहरी उपरीक्षक जबराले भने, ‘संक्रमणको चिन्ता हामीलाई पनि छ तर असुरक्षित भए पनि निर्देशनअनुसार खट्नुपरेको छ ।’

कपिलवस्तुमा जस्तै समस्या रुपन्देही जिल्लामा पनि देखिएको छ । रुपन्देहीमा प्रहरीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा काममा समस्या भएको छ । सामग्रीको पखाइमा रहेको बताउँदै केही सामग्री आफ्नै स्रोतसाधन व्यवस्थापन गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए । समयमै कतैबाट सुरक्षा सामग्री उपलब्ध भए निर्धक्कका साथ सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने दृढता उनले व्यक्त गरे ।

उनका अनुसार साठी किलोमिटर रुपन्देहीको सीमालाई बन्द गरिएको छ । रुपन्देहीका सीमा नाका भारतीय गाउँमा केही सङ्क्रमित भेटिएसँंगै सुरक्षालाई थप कडाइका साथ अघि बढाइएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्