अमेरिका कोरोनाको इपिसेन्ट, न्यूयोर्कमा एकैदिन ७ सय ३१ को मृत्यु



काठमाडौं : अमेरिका कोरोनाभाइरस (कोभिड–१९)को इपिसेन्टर बनेको छ । अमेरिकाको न्यूयोर्कमा मंगलबार एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ ।

न्यूयोर्कमा कोरोना महामारी फैलिएयता सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको यो पहिलो पटक हो ।

योसँगै न्यूयोर्कमा अहिलेसम्म मृत्यु हुनेको संख्या पाँच हजार ४ सय ८९ पुगेको छ । यस्तै संक्रमितको संख्या पनि राज्यमा एक लाख ३८ हजार ८ सय ३६ पुगेको छ ।

न्यूयोर्कका जेलहरुमा पनि संक्रमण फैलिएको छ । गरै फौजदारी अभियोगमा जेलमा रहेका र संक्रमणको उच्च जोखिममा रहेका ५३ वर्षका माइकल टाइसनको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । सुनुवाईको पर्खाईमै रहँदै उनको निधन भएको हो ।

आइतबार र सोमबार संक्रमण तथा मृत्यु कम भएकोमा न्यूयोर्क मंगलबार कोभिड–१९ बाट अहिलेसम्मकै धेरै व्यक्तिको निधन भएको हो ।

तर नयाँ संक्रमण भने केही कम देखिएको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले बताएका छन् ।

न्यूयोर्कमा जस्तै समग्र अमेरिकाभरमा पनि मंगलबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ ।

अमेरिकामा मंगलबार एकै दिन १९ सय २४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय ५४ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ४ सय १२ पुगेको छ ।

विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या ८२ हजार ८० पुगेको छ । यस्तै विश्वभर कुल संक्रमितको संख्या १४ लाख ३१ हजा ७ सय ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्