वडा अध्यक्ष साहको पहलमा क्वारेन्टाइन स्थापना



जनकपुरधाम : जनकपुरधाम उपामहानगरपलिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि केहि गर्न नसकेको बेला एक वडा अध्यक्षले आफ्नो वडावासीको स्वास्थ्य अवस्थाप्रति गम्भिरता देखाउँदै क्वारेन्टाइन भवन सञ्चालनमा ल्याएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो जनताको स्वास्थ्य सेवा देखि अत्यावश्यक राहत सामग्री सेवाहरु समेत वितरण गर्न नसकेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष जानकीराम साहले आफ्नो वडामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडामा रहेको सामुदायिक विद्यालयमा क्वारेन्टाइन भवनको स्थापना गरेका हुन् ।

सो वडामा रहेको रामजानकी आधारभुत विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइन भवनमा ८ बेडको व्यवस्थापन गरि संचालनमा ल्याइएको वडाध्यक्ष साहले बताए । उनले भने,’वडास्तरबाटै क्वारेन्टाइनको सम्पूर्ण तयारी पुरा गरेको छु र चेकजाँचका लागि आवश्यक उपकरण, सुरक्षा सामग्रीको अभाव रहेतापनि यसलाई पुरा गर्न प्रदेश सरकारलाई तत्काल पत्राचार गरी आवश्यक उपकरण माग समेत गर्नेछु ।’

उनले क्वारेन्टाइन लगायतको अन्य सुविधाका लागि नगर प्रमुख साहसँग पटक पटक आग्रह गर्दा समेत उनले चासो नदेखाएको आरोप लगाए । वडा अध्यक्ष जानकीरामले अचेल नगरप्रमुख साह फोनै उठाउन छोडेको आरोप समेत लगाए । नगरबाट कुनै प्रकारको सहयोग नपाउने भएपछि आफूले आफ्नो वडावासीको सुरक्षाका लागि आफ्नै स्तरबाट क्वारेन्टाइन भवन स्थापना गरेको उनले बताए ।

धनुषाको १८ वटा स्थानीय तह मध्ये १७ स्थानीय तहले क्वारेन्टाइन बनाएपनि जनकपुरधाम उपमहानगरले ठाउँको अभाव देखाउँदै अहिलेसम्म क्वारेन्टाइन बनाउने चाजोपाजो समेत गरेको छैन । नगरप्रमुख लालकिशोर साह, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला सहितको टोली जनकपुरधाम वडा नं.१४ स्थित मुजेलियामा बन्द रहेको मणिपाल शिक्षण अस्पताललाई क्वारेन्टाइन बनाउन अनुगमन सहित निरीक्षण गरेको थियो ।

तर त्यहाँ क्वारेन्टाइन बनाउनका लागि आर्थिक लगानी लगाउनुपर्ने भएकोले आन्तरिक कुरा नमिल्दा काम नै गरेनन् । जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झाले जनकपुरधाममै पर्ने मुजेलिया, बसहिया लगायतका विभिन्न ठाउँमा क्वारेन्टाइन निर्माणको विरोध भएको भन्दै निर्माण कार्य नहुन सकेको बताइन् ।

जनकपुरधाम उपमहानगरको वर्तमान अवस्थाको भूगोल, जनसंख्या, बजेट र क्षेत्रफलको हिसाबले प्रदेश नम्बर २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरले क्वारेन्टाइन बनाउन नसकेको भन्दै स्थानीयस्तरमा तिव्र विरोध भईरहेको छ । जनताको स्वास्थ्य प्रति उपमहानगरपालिका अहिलेसम्मपनि सचेत नभएको र क्वारेन्टाइन निर्माण गरी संचालन समेत गर्न नसक्नु दुःखद रहेको जनकपुरधाम वडा नम्बर ८ बस्ने यूवा अभियन्ता सरोज मिश्रले बताए ।

उनले जनकपुरधाम उपमहानगर अन्तर्गतको स्वास्थ्य विभागलाई समेत परिचालन गर्न नसक्नु र क्वारेन्टाइन संचालनसम्मको व्यवस्था गर्न नसक्नु लज्जाको विषय रहेको प्रतिक्रिया दिए ।
त्यस्तै अर्का यूवा अभियानी सुशिल कर्णले स्थानीय सरकार जनता र जनताको स्वास्थ्यप्रति सचेत तथा गम्भिर नरहेको आरोप लगाए । कोरोना संक्रमण रोक्न सम्भावितलाई क्वारेन्टाईनमा राखेर व्यवस्थित गर्नुपर्ने जिम्मेवारीबाट पन्छिएर गैरजिम्मेवारपूर्ण गैर जिम्मेवारी व्यवहार जनकपुरधाम उपमहामनगरको रहेको यूवा अभियानी कर्णले आरोप लगाए ।

धनुषामा एक गाउँपालिका र एक उपमहानगरपालिका बाहेक हरेक स्थानिय तहले यस संक्रमणकालको समयमा सकेजति आफ्नो तर्फबाट क्वारेन्टाइनको व्यवस्था गरेको छ । धनुषा जिल्लामा अहिले सम्ममा १६ वटा स्थानिय तहमा ३ सय ५३ बेड क्षमता भएको क्वारेन्टाइनमा ९३ जना रहेका छन् भने ३२ बेड संख्या भएको आइसोलेशनमा १० जना विरामी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनाए ।

गाउँपालिका र नगरपालिकाले आ–आफ्नो तर्फबाट कोरोनाको शंकास्पद विरामीको लागि क्वारेन्टाइनको व्यवस्था गरेतापनि जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अहिले सम्म यसको व्यवस्था गरेको छैन । धनुषामा नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा प्रदेश सरकारले नै ७५ बेड क्षमता रहेको क्वारेन्टाइन सञ्चालनमा रहेको छ भने ३२ बेड क्षमता रहेको आइसोलेशन रहेको छ ।

त्यस्तै धनुषाधाम नगरपालिकामा ३८, गणेशमान चारनाथ नगरपालिकामा २४, सबैला नगरपालिकामा २५, मिथिला नगरपालिकामा १०, क्षीरेश्वरनाथ नगरपालिकामा ११, विदेह नगरपालिकामा २५, शहिदनगर नगरपालिकामा ३०, कमला नगरपालिकामा १५, मिथिला बिहारी नगरपालिकामा ७, हंसपुर नगरपालिकामा ११, जनकनन्दनी गाउँपालिकामा २०, बटेश्वर गाउँपालिकामा २५, लक्ष्मीनीया गाउँपालिकामा ७, औरही गाउँपालिकामा १६ र धनौजी गाउँपालिकामा १४ बेड क्षमता रहेको क्वारेन्टाइनको निर्माण भएको हो ।

यता जनकपुरधाममै नगरप्रमुख लालकिशोर साहले क्वारेन्टाइनको व्यवस्था नगरेपछि वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफ्नो वडामा ८ बेड क्षमता भएको क्वारेन्टाइन संचालनमा ल्याएपछि अहिले यस वडाका वासीहरु भने ढुक्क भएका छन् ।

प्रतिक्रिया दिनुहोस्