बीपी प्रतिष्ठानमा २ सय ३७ जनाको नमुना परीक्षण, हालसम्म सबै नेगेटिभ



विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको स्वाब नमुना परीक्षणबाट हालसम्म कसैलाई पनि संक्रमण नभएको पाइएको छ ।

प्रतिष्ठानमा प्रदेश १ का विभिन्न जिल्लाका शंकास्पद बिरामीको स्वाब नमुना परीक्षणका लागि लैजाने गरिएको छ । कतिपय बिरामी आफैं प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा पुगेर नमुना परीक्षणका लागि दिने गरेका छन् ।

प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका शंकास्पद १२ जना बिरामीमध्ये ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । एक जनाको उपचार भइरहेको छ । भर्ना भएका कसैमा पनि संक्रमण नदेखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हालसम्म २ सय ३७ जनाको प्रारम्भिक जाँच गरिएको छ ।

तीमध्ये १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अरुलाई जाँचपछि सामान्य अवस्था रहेको भन्दै घरमै क्वारेन्टाइनमा बस्न पठाइएको छ । प्रतिष्ठानमै पुगेका ४१ जनाको स्वाब नमुना संकलन गरी परीक्षण गरिएको छ । तीमध्ये २६ जनामा संक्रमण पाइएको छैन । १५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रतिष्ठानको कोभिड हेल्थ डेस्कले जनाएको छ ।

यसैगरी प्रदेशका विभिन्न जिल्लाबाट नमुना संकलन गरी ८३ जनाको स्वाब ल्याइएकामा ६५ जनाको परीक्षण रिपोर्ट आइसकेको छ। ती सबैमा संक्रमण नदेखिएको प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबले जनाएको छ । बाँकी १८ जनाको रिपोर्ट आइसकेको छैन ।

अघिल्लो आइतबारदेखि प्रतिष्ठानमा कोरोना संक्रमण भए, नभएको परीक्षण गर्न थालिएको हो। प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पताल र अन्य स्थानमा गरी ४ सय ३८ आइसोलेसन शय्या छन् । ४ हजार ३७ वटा शय्या रहेको क्वारेन्टाइन तयारी अवस्थामा छ। हालसम्म ६ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

भारतलगायत मुलुकबाट आएका झन्डै तीन हजार जना होम क्वारेन्टाइनमा बसिरहेको जनाइएको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भावित संक्रमितलाई राखेर उपचार गर्नका लागि आइसीयूसहितको ४४ वटा शय्या तयार छ ।

मन्त्रिपरिषद कार्यालयका अनुसार संघीय सरकारबाट प्रदेश १ का लागि स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामग्री ५ सय ५३ वटा आएको छ । आईआर थर्मोमिटर २७ वटा, मास्क ४२ हजार १ सय, एक्जामिनेसन ग्लोब्स ८० हजार ५ सय आएको छ ।

यसैगरी ह्यान्ड सेनिटाइजर २ हजार १ सय ३९, पीपीई गाउन १ हजार ८ सय ९६, नेबुलाइजन ४०, सर्जिकल ग्लोब्स ८ सय, एन ९५ मास्क ४ सय ८० वटा आएको जनाइएको छ । ती सामग्री विभिन्न जिल्लाका स्वास्थ्यकर्मीहरुका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्