लकडाउनमा होटल खोल्न लगाएर प्रदेश २ सभामुख यादवलाई भोजन !



राजविराज : कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले तेस्रो चरणको लकडाउन मुलुकभर घोषणा गरेको छ भने सबै नागरिकलाई आफ्नो घरमा बस्न आग्रह गरेको छ ।

लकडाउनको बेला ठाउँठाउँमा सर्वसाधारणले अवज्ञा गरेको भन्ने सुनिदै आएको छ । तर, यसपटक भने प्रदेश २ का सभामुख सरोज यादवसहितका टोलीले सरकारले लागू गरेको लकडाउनको अवज्ञा गरेका छन् ।

उनीहरुले लकडाउन बाहिर गएर एक बन्द होटल खोल्न लगाएर भोजन गरेका छन् ।
प्रदेश २ को प्रवेशद्वार कोसी ब्यारेजस्थित होटेल होलिडे सभामुख यादवसहितको टोलीलाई भोजनका लागि बुधबार खोलाइएको हो ।

सभामुखको टोलीमा उनका अतिरिक्त समाजवादी पार्टीका प्रदेशसभा सदस्य कौसल यादव, प्रदेश सभाका सचिव रन्जीत यादव, अरुण झा लगायत प्रदेश सभाका अन्य कर्मचारीहरु थिए । यसैगरी, प्रदेश सभाकै सुरक्षाकर्मीहरुको टोलीले पनि खाना खाएका थिए ।

बुधबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको व्यवस्थापनबारे छलफल गर्नका साथै कोरोना संक्रमणको रोकथामका लागि भइरहेको प्रयासबारे सभामुख यादवले जानकारी दिएका थिए ।

टोलीलाई राजविराजमै खाना खान आग्रह गरिएको थियो । तर, राजविराजबाट २४ किलोमिटर पूर्व कोसी ब्यारेज गएर उक्त बन्द होटल खोल्न लगाएर खाना खाएका थिए ।

यता सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले प्रदेश सभाका सभामुख सप्तरी आएको जानकारी पाएको बताए । तर, उनीहरु कहाँ–कहाँ गए भन्ने आफूहरुलाई जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्