पाँचबुँदे सहमतिसँगै कोरोना अस्पतालबाट बाबुरामका आफन्तले शव बुझे



बुटवाल : चैत १६ गते बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका बाबुराम थापको शव आज (बुधबार) ११ दिनको आफन्तले बुझेका छन् ।

कोरोनाको आशंकामा अस्पताल पुगेका ३४ वर्षीय थापाको उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्यु भइसकेपछि आएको रिपोर्टमा कोरोना संक्रमण नभएको पाइयो ।

समयमा उपचार नपाएर आफ्ना श्रीमानको मृत्यु भएको भन्दै मृतककी श्रीमती रिताले छानविन नभएसम्म शव नबुझ्ने अडान लिइन् ।

त्यही कारण ११ दिनदेखि बाबुरामको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा थियो ।

आज प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएको छ ।

वार्तामा मृतकका परिवारलाई दिने गरी आधारभूत राहत कोष बनाउने सहमति भएको छ, जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ ।

यसैगरी मृतकका दुई छोरालाई उच्च शिक्षासम्म पठनपाठनमा सहयोग गर्ने र मृतककी श्रीमती रिता थापा क्षेत्रीलाई सैनामैनामै स्थानीय सरकारले योग्यताअनुसार रोजगार दिने लिखित सहमति भएको पूर्व सभासद विनोद पहाडीले बताए ।

सहमतिअनुसार लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा रहेको थापाको शव परिवारले बुझेर अन्तिम संस्कार गर्नेछन् ।

यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ ।

पाल्पा रिब्दिकोट ५ कुसुमखोला स्थायी घर भएपनि थापा परिवार सैनामैना नगरपालिका ४ सिसौंडाडामा डेरामा बस्दै आएको छ । चैत पहिलो साता मात्र दुबईबाट नेपाल फर्किएका थापा चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्