धनगढीका अस्पतालले बिरामी भर्ना नलिंदा १ जनाको ज्यान गयो



कैलाली :धनगढीस्थित अस्पतालले बिरामीलाई भर्ना गर्न नमान्दा १ जना बिरामीको ज्यान गएको छ ।

कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका ७६ वर्षिय जनकलाल भट्टको ज्यान गएको हो । मृतकका आफन्त हेमराज भट्टका अनुसार बिरामीलाई बुधवार साढे ११ बजे धनगढीको माया मेट्रो अस्पताल पुर्याइएको थियो तर ४ घण्टासम्म कुनै वास्ता नगरिएपछि घरै लगिएको थियो ।

उनले भने, ‘माया मेट्रो अस्पतालमा ४ घण्टा राख्दा कसैले केही वास्ता गरेनन् । अरु ठाउँ लैजाने विकल्प पनि भएन अनि बाध्य भएर घर ल्याउँदा घर पुग्ने बित्तिकै ज्यान गयो ।’ श्वासप्रश्वासमा समस्या देखिएकाले भेन्टिलेटरमा राख्नुपर्ने भएको तर कुनै पनि अस्पतालले भर्ना गर्न नमान्दा काकाको मृत्यु भएको उनले दुखेसो पोखे ।

उनका अनुसार धनगढीमा भेन्टिलेटरको सुविधा रहेको अर्को निजी अस्पताल निसर्गका सञ्चालकसँग आग्रह गरेपनि कसैले भर्ना गर्न नमान्दा बिरामीलाई घर लगिएको थियो । केही निजी अस्पतालले भेन्टिलेटर खाली नभएको बताए भने केही अस्पतालले चिकित्सक नै नभएको भन्दै भर्ना गर्न मानेनन् ।

सेती प्रादेशिक अस्पतालमा पनि भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि मृतकलाई माया मेट्रोमै लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्