प्रदेश २ मा १ सय ४० जनाको स्वाब परिक्षण,१ सय १३ को निगेटिभ, २७ को रिपोर्ट आउन बाँकी



जनकपुरधाम : प्रदेश २ मा बुधबार दिउँसोसम्म १ सय ४० जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाब परिक्षण गरिएको छ ।

त्यसमध्ये १ सय १३ जनाको रिपोर्ट निगेटिभ आएको छ भने २७ जनाको रिपोर्ट आउन बाँकी छ ।
भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रमसमेत जारी रहेको छ ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार २ सय १५ बेड क्षमताको १ सय ४५ वटा क्वारेन्टाइनमा ९ सय ९ जना शंकास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेशभरिमा अहिले १ हजार १ सय ८४ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय ८ बेड क्षमताको आईसोलेशनमा २१ जना भर्ना रहेको उनले बताए ।

सचिव घिमिरेका अनुसार रौतहटमा ७ सय ७५ बेड क्षमताको १६ वटा क्वारेन्टाइनमा अहिले २ सय ४१ जनालाई र ३६ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ३० बेड क्षमताको आईसोलेशन बेडमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ ।

त्यस्तै बारामा ४ सय ४ बेड क्षमताको १४ वटा क्वारेन्टाइनमा अहिलेसम्म ६० जनालाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ वटा आईसोलेशन बेडमा अहिले ११ जना कोरोनाका शंकास्पद बिरामीलाई राखिएको घिमिरेले जानकारी दिए । बारामा अहिले ३० जना होम क्वारेन्टाइनमा रहेका छन् ।

पर्सामा २ सय ७० बेड क्षमताको १४ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ ७७ जना क्वारेन्टाइनमा र ७८ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको बिभिन्न ठाउँमा रहेको २८ बेडको आईसोलेशनमा अहिले ३ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

सप्तरीमा ५ सय ८० बेड क्षमताको ३१ वटा क्वारेन्टाइनमा अहिले २ सय २७ जनालाई निगरानीमा राखिएको छ भने ७० जना होम क्वारेन्टाइनमा छन् । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको ९ वटा आईसोलेशन बेडमा अहिले कुनैपनि बिरामी नरहेको उनले बताए ।

सिरहामा २ सय ४६ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय २५ जना र होम क्वारेन्टाइनमा ७७ जना रहेका छन् । त्यस जिल्लामा ४० बेडको आईसोलेशन रहेकोमा त्यहाँ अहिलेसम्म कुनै पनि शंकास्पद बिरामीलाई राखिएको छैन ।

धनुषामा ३ सय ५४ बेड क्षमताको १६ वटा क्वारेन्टाइनमा अहिले ९६ जनालाई राखिएको उनले जानकारी दिए । यस जिल्लामा अहिले ५६ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइसोलेशन रहेकोमा ७ जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखिएको छ ।
त्यस्तै महोत्तरीमा ३ सय २५ बेड क्षमताको १७ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिलेसम्म ८ सय ७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ५८ जनालाई राखिएको छ । महोत्तरीमा २६ बेडको आईसोलेशन वार्ड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनैपनि शंकास्पद बिरामी नआएको उनले बताए ।

सर्लाही जिल्लामा २ सय ८१ बेड क्षमताको २० वटा क्वारेन्टाइनमा अहिले २५ जना रहेका छन् भने ३० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । १५ वटा आईसोलेशन बेड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनैपनि शंकास्पद बिरामी आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्