प्रदेश सरकार सम्पर्क कार्यालय काठमाडौँमा राख्न सुझाव



काठमाडौँ : सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय स‌घको राजधानी काठमाडौँमा खोल्नुपर्ने सुझाव दिइएको छ । 

स‌घीय सरकारले गठन गरेको प्रदेश सरकार समस्याबारे बुझ्न गठित अध्ययन समितिले स‌घ र प्रदेश सरकारबीच समन्वय गर्न काठमाडौँमा प्रदेश सरकारको कार्यालय स्थापना गर्नुपर्ने सुझाव दिएको समिति सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदार अधिकारीले जानकारी दिए । 

‘स‌घीय र प्रदेश सरकारबीच समन्वयको खाँचो देखिएको छ’, उनले भने, ‘दुवै सरकारको समन्वय गर्न स‌घमा सबै प्रदेश सरकारको सम्पर्क कार्यालय स्थापना गर्नुपर्दछ ।’ 

सरकारले प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी, लक्ष्मण मैनाली र लालश‌‌कर घिमिरे रहेको तीन सदस्यीय प्रदेशको समस्याबारे अध्ययन समिति गठन गरेको थियो । यसैगरी समितिले प्रदेश सरकारलाई आवश्यक कर्मचारी, कानुन र भौतिक पूर्वाधारमा कमी भएकोसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रदेश सरकार सञ्चालनमा कठिनाइ भएको छ । यसैगरी समितिले कतियय प्रदेशका मन्त्रालय नाम पुनःसंरचना हुन पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेशको भौगोलिकअनुसार मन्त्रालयको नाम नरहेकाले पुनः संरचनाको आवश्यकता देखिएको सचिव अधिकारीले बताए । 

प्रदेश ५, कर्णाली र ७ नं मा सचिव अधिकारी, प्रदेश १ र २ मा सचिव मैनाली र प्रदेश ३ र गण्डकीमा सचिव घिमिरे स्थलगत अध्ययनका लागि गएका थिए । समितिले मुख्यसचिव लोकदर्शन रेग्मीलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्