काठमाडौं ७ बाट पछि हटे वामदेव



काठमाडौं : चौतर्फी आलोचना भएपछि अन्ततः वामदेव गौतम काठमाडौं क्षेत्र नम्बर ७ मा उपचुनाव गराएर संसदमा छिर्ने योजनाबाट पछि हटेका छन्।  प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ मा पार्टीभित्रकै अर्न्तरघातका कारण  पराजित हुनु परेको भन्दै उनले जितेका सांसदलाई राजीनामा गराएर सांसद बन्न लागेका थिए।

 

काठमाडौं ७ का सांसद रामवीर मानन्धरले उनका लागि पद त्याग्न तयार भए पनि चौतर्फी आलोचना र पार्टीभित्रै शीर्ष नेताको साथ नपाएपछि वामदेव उपचुनावबाट पछि हटेका हुन्। वामदेवका लागि मानन्धरले दिएको स्वीकृत पत्र र पत्रकारसम्मेलन पछि नेता गौतमको चर्काे आलोचना भएको थियो। 

 

पार्टीभित्र र बाहिर दुवैतिरबाट उनको आलोचना हुन थालेपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्श र वस्तुस्थिती अध्ययन गरेर गौतम चुनावबाट पछि हटेका हुन्। 

 

वामदेव निकट स्रोतका अनुसार शुक्रबार विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने तयारी भइरहेको छ।

 

सोमबार सांसद मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सचिवालय बैठकमा प्रस्तुत गरेका थिए। त्यसपछि वामदेवको आलोचना सुरु भएको थियो ।

नेकपामा नेताबीच बढेको कलह मिलाउन र पार्टी एकतालाई तलसम्म पुर्याउनका लागि बसेको सचिवालय बैठकमा प्रचण्डले वामदेवका लागि रामवीरले छाड्न तयार भएको पत्र प्रस्तुत गरेका थिए। 

 

बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिरका मालिकसमेत रहेका मानन्धर तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। 

 

मानन्धरले १८१०२  मत पाएका थिए भने विक्रमबहादुर थापाले १००७९  मत पाएका थिए। उनले ८०२३ मतको अन्तरले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार, राप्रपाका नेता तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापालाई पराजित गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्