वीरगन्ज सुख्खा बन्दरगाहामा २२ सय कन्टेनर थन्कियो



वीरगन्ज : लकडाउनमा स्थानिय प्रहरी प्रशासनले सहयोग नगरेका कारण पर्साको सिर्सिया सुख्खा बन्दरगाहमा भारत तथा तेश्रो मुलुकबाट नेपालका लागि आयात गरिएका मालसामानका २ हजारभन्दा बढी कन्टेनर रोकिएका छन् । सिर्सिया सुख्खा बन्दरगाहमा बुधबारसम्म २ हजार २ सयभन्दा बढी कन्टेनर रोकिएको बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बन्दरगाह परिसरमा थन्किएका कन्टेनरमा खाद्यान्न र खाद्य उद्योगका कच्चा पदार्थ ( दाल , केराउ, मकै, तोरी, भटमास, पशु र कुखुराका दाना ) रहेका छन् । भारत तथा तेश्रो मुलुकबाट भारतीय रेलमार्ग हुँदै ल्याइएका कन्टेनर स्थानीय प्रशासन र प्रहरीको असहयोगका कारण बन्दरगाहबाट जाँचपास हुन नसक्दा सुख्खाबन्दरगाहामा रोकिएर राखिएको भंसार प्रमुख श्रेष्ठले बताए ।

लकडाउनमा सरकारले नै मालवाहक गाडीको आवागमनमा कुनै पनि रोक नलगाइएको जनाउँदै आएको छ । तर, बन्दरगाहमा आइपुगेका मालसामानका कन्टेनर गन्तव्यमा पठाउँन स्थानिय प्रहरी प्रशासनकै अवरोध भइरहेका कारण २ हजार २ सय भन्दा बढी कन्टेनर भंसार आडमा थुप्रिएको श्रेष्ठले बताए ।

कन्टेनर बोकेर गन्तव्यमा हिँडेका गाडीलाई ठाउँठाउँमा प्रहरीले लकडाउनको बहानामा रोकेर अवरोध गर्दै आएका कारण चालक कन्टेनर लिन बन्दरगाहमा आउनै नमानेको श्रेष्ठले बताए । ‘लकडाउनमा काठमाडौंका कन्टेनर पठाउनै सकिएको छैन,’ श्रेष्ठले भने, ’अहिले पर्सा बारालगायत नजिकका मात्रै कन्टेनर जाँचपास भएर गइरहेका छन् अन्य टाढाका कन्टेनर पठाउनै सकिएको छैन । बीच बाटोमै कन्टेनरका गाडी रोकेर प्रहरीले लकडाउनमा अत्यावश्यक बाहेकका मालवस्तुको गाडी चलाउन नपाइने भन्दै चालकलाइ गन्तव्यमा पुग्न अवरोध गरेका छन् । त्यहि भएर गाडी लिएर चालक बन्दरगाह आउनै मानेका छैनन् ।’

प्रहरी प्रशासनको आफै नियमका कारण कतिपय चालकहरु घरबाट आउँनै मानेका छैनन्, त्यसकारणले पनि ढुवानीका लागि गाडी अभाव भएको उनले बताए । त्यसैगरी मालसामान लोड अनलोड गर्ने मजदुर, आयाकर्ता र एजेन्टलाइ पनि प्रहरीले बाटोमा रोकेर अवरोध पु¥याइरहेकाले उनीहरु पनि बन्दरगाहसम्म सहज रुपमा आउन नसकेको अवस्था रहेको श्रेष्ठले बताए ।

भारत तथा तेश्रो मुलुकबाट रेलमार्गहुँदै मालसामान साबिककै परिमाणमा आइरहेको भएपनि बन्दरगाह भन्सारबाट जाँचपास हुन नसकेका कारण कन्टेनरहरु थुप्रिइरहेको प्रमुख श्रेष्ठले बताए । लकडाउनभन्दा पहिलेका दिनमा दैनिक ३ देखि ४ सय कन्टेनर बन्दरगाहबाट जाँचपास हुने गरेको पनि जानकारी उनले गराए । दिनहुँ कन्टेनर थुप्रिदै गएका कारण अब भारतबाट रेलले बोकर ल्याउने कन्टेनरहरु राख्ने ठाउँको पनि अभाव हुन थालेको उनले बताए ।

कन्टेनर जाँचपास नभइ थुप्रिएका कारण भन्सारको राजश्व असुलीमा पनि गिरावट आएको श्रेष्ठले जानकारी दिए । भन्सार विभागले चैत महिनमा ३ अर्ब ३४ करोड राजश्व संकलनको लक्ष्य दिएको छ । तर, सुख्खा बन्दरगाह भन्सार कार्यालयले चैत २५ सम्म लक्ष्यको ५४ प्रतिशत मात्र अर्थात १ अर्ब ७२ करोड रुपैयाँमा मात्र राजश्व संकलन गर्न सकेको उनले बताए ।

लकडाउनको असर खाद्यान्न उद्योगमा समेत परेको छ । लकडाउनले गर्दा बारा पर्साको औद्योगिक कोरिडोरमा रहेको खाद्यान्न उद्योगमा कच्चा पदार्थ अभाव हुन थालेपछि कतिपय उद्योगहरु बन्द हुने अवस्थामा पुगेको छ । नेपाल चामल तेल दाल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोध गुप्ताका अनुसार, पर्सा बारा औद्योगिक कोरिडोरममा २ सय ५० खाद्यान्न उद्योग छन् ।

ती मध्ये अहिले ५० उद्योग मात्र चलिररहेका छन, गुप्ताले भने, ’ती पनि कच्चा पदार्थ र मजदुरको अभावमा क्षमताको २५ प्रतिशत मात्र उत्पादन गरिरहेका छन् ।’ कच्चा पदार्थको आयात सहज नहुने भने अहिले चलेका खाद्यान्न उद्योगहरु पनि अबको १०/१५ दिन भित्र बन्द हुने निश्चित रहेको गुप्ताले बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका गुप्ताले भने, ’लकडाउनमा सरकारले एउटा निर्णय गर्छ तर सडकमा खटिएका प्रहरीले आफ्नै कानुन चलाइरहेका छन् जसका कारण ढुवानीमा अवरोध भइरहेको हो ।’ स्थानिय प्रहरी प्रशासनले आफनो रवैयामा सुधार नल्याएर र केन्द्र सरकारले लागु गरेको नियम कानुनलाई व्यहारमा नउतारे आउँने एक दुई सतामा खाद्यान्न उद्योगहरु बन्द हुने निश्चित रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्