नेपालसामु इतिहास रच्ने अर्को मौका



काठमाडौं: युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत् युएईसँग अन्तिम खेल खेल्नेछ । तीनओटा एकदिवसीय र तीनओटा टी–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एकदिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।

टी–२० सिरिज भने १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको छ । दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा आइतबार दिउँसो हुने खेल नेपालले जित्नसके पहिलो टी–२० अन्तर्राष्ट्रिय उपाधि जित्नेछ । सोही मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो ।

राम्रो फर्ममा रहेका नेपाली टोलीले टी–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ । जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीका–टिप्पणी हुने गरे पनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् ।

त्यसो त अझै युवा ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र सन्दीप जोराले आफूलाई उत्कृष्ट युवा ब्याट्सम्यान प्रमाणित गरिसकेका छन् । रोहितले कम उमेरमा अर्धशतक बनाउने नयाँ विश्व रेकर्ड बनाएका छन् भने जोराले टी–२० मा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड कायम गरिसकेका छन् ।

टी–२० सिरिजमा ओपनर ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न नसके पनि मध्यक्रमका ब्याट्सम्यानका तथा बलरहरुको प्रदर्शन देख्नलायक रहँदै आएको छ । दोस्रो टी–२० मा पनि मध्यक्रमका ब्याट्सम्यानले राम्रो साझेदारी गर्दा नेपालले चार बल बाँकी छँदा लक्ष्य भेट्टाएको थियो ।

नेपाली टोलीका कप्तान पारस खड्काले पनि नेपाली बलरको अलराउन्ड प्रदर्शनका कारण टी–२० अन्तर्गत् दोस्रो खेलमा जित हासिल भएको बताइसकेका छन् । सन् २०१४ को टी–२० विश्वकपमा टी–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टी–२० विश्वकप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो ।

पुनः गत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ । टी–२० सिरिजमा नेपालले युएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पनि जित हुनेछ । जारी सिरिजमा नेपालका बलरको प्रदर्शन पनि उत्कृष्ट रहँदै आएको छ । विशेषगरी सोमपाल कामी र सन्दीप लामिछानेको योगदान अझै महत्वपूर्ण छ ।

सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डले संयुक्तरुपमा आयोजना गरेको टी–२० विश्वकप छनोटमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग २० रनले पराजित भएको थियो । त्यस्तै, सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपअन्तर्गत् अभ्यास खेलमा युएई ६ विकेटले विजयी भएको थियो । सन् २०१३ मा पनि भएको विश्वकप छनोटअन्तर्गत्को खेलमा नेपालले युएईलाई उसकै घरेलु मैदानमा ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्