टेलिकमको भ्वाइस तथा डाटा सेवामा निरन्तरता



काठमाडौं : नेपाल टेलिकमले विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ ।

सरकारले तेस्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त अफरको अवधि २७ चैत २०७६ देखि २०७७ वैशाख ४ गतेसम्म बढाएको हो । सो अवधिमा जिएसएम सेवामा डाटा प्याकअन्तर्गत पहिलो प्याकेजमा रु १०० मा एक जिबी डाटा खरिद गर्दा तीन जिबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा पाँच दिनभित्र खपत गर्नुपर्नेछ ।

त्यसैगरी दोस्रो प्याकेजमा रु २०० मा दुई जिबी डाटा खरिद गर्दा आठ जिबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा सात दिनभित्र खपत गरिसक्नुपर्दछ । यसरी रु १०० मा बोनससहित कूल चार जिबी र रु २०० मा बोनससहित १० जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले आज एक विज्ञप्ति जारी गरी जनाएको हो ।

कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जिएसएम र सिडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको छ । सोअन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु २५ मा एक दिनका लागि बोनससहित ६० मिनेट र रु १०० मा सात दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ । टेलिकमले कोरोना भाइरसको महामारीले सिर्जना गरेको हालको विषम परिस्थितिमा उल्लिखित व्यवस्थाबाट ग्राहकवर्ग तथा समस्त देशवासीलाई आफ्ना परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्