लकडाउनका बेला हिँडेरै काठमाडौं छोड्ने क्रम रोकिएन



काठमाडौं : लकडाउनको पालनामा कडाइ गरिएपनि रातारात हिँडेरै काठमाडौं उपत्यका छाड्ने क्रम नरोकिएको प्रहरी र प्रशासनले जनाएको छ। काठमाडौं छोड्दै गरेका नेपालीहरूले सानाठूला समूहमा विभाजित भएर केही दिन हिँडेरै घर पुग्न खोजेको बताएका छन्।

लकडाउनपछि रोजगारी गुमेको र काठमाण्डूमा बस्दा खर्च पनि सकिएकोले आफूहरू उपत्यका छाड्न बाध्य भएको उनीहरूले बताएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार विगतको तुलनामा चितवन हुँदै बाहिरिनेको सङ्ख्या कम भए पनि पैदलयात्रीहरू आउने क्रम रोकिएको छैन।

चितवन प्रहरी प्रमुख एसपी नान्टीराज गुरुङले पैदलयात्रुले राजमार्गभन्दा जङ्गलको बाटो वा अन्य वैकल्पिक बाटोको समेत प्रयोग गरेर बाहिरिएको हुन सक्ने अनुमान गर्छन्।

काठमाडौंमा विकल्प छैन

प्रजिअ भट्टराईले भने, “सकेसम्म हामीले उहाँहरूलाई जहाँ हुनुहुन्छ त्यहीँ रहन अनुरोध गरेका छौँ।” तर पैदलयात्रुहरु कोरोनाभाइरसको जोखिम कम नभएसम्म सरकारले लकडाउन थप्न सक्छ भनेर राशन सकिएकोले कुनै विकल्प बाँकी नरहेकोले काठमाडौं छाडेको बताउँछन्।

बाँके जान लागेका राप्ती सुनारीका कमलप्रसाद चौधरीले भन्छन्, “हामी काठमाडौंदेखि हिँड्दै आएका हौँ। अब कसैले बाटोमा लिफ्ट दिए चढ्ने हो नत्र हिँडेर घर पुग्ने योजना छ। चार दिनमा त घर पुगिएला।”

उनीसँगै रहेका अन्य सात जना पनि बाँके, बर्दिया र दाङ घर भएका रहेको चौधरीले बताए।

त्यसैगरी झापा, काठमाडौं र धादिङबाट पश्चिमको बाँके, बर्दिया, कञ्चनपुर र दाङ तथा पूर्वको सिन्धुली र रौतहटतर्फ सयौँको सङ्ख्यामा चितवन हुँदै घरतर्फ जानेको सङ्ख्या ठूलो रहेको प्रहरीले बताएको छ।

जानै पर्ने अवस्था

रौतहट घर भएका सलिम अन्सारी भने आफ्नो छोरा बिरामी परेपछि उनको उपचारका लागि घर पुग्नै पर्ने देखिएपछि जोखिम मोलेरै चितवन हुँदै घरतर्फ लागेको बताए। उनले भने, “घरमा छोरा बिरामी परेको छ। हेरचाह तथा औषधोपचारका लागि घरमा श्रीमती मात्रै रहेकोले घर जाँदैछु। सबै बन्द छ। हिँडेरै जान्छु।”

चर्को घाममा हिँडेर यात्रा गर्दा खाना तथा पानीको साथै सुत्नको समस्या हुने गरेको उनीहरू बताउँछन्। त्यसैगरी सिन्धुलीको बाटो हुँदै गत सोमवार काठमाडौंबाट हिँडेका सुरेन्द्र चौधरी बिहीवार सप्तरीस्थित घर पुगे।

काठमाडौंमा घर बनाउने काम गर्दै आएका नौ जनाको समूहमा रहेका चौधरी रातदिन हिँडेर र छोटो दूरीका लागि तरकारी, ग्यास तथा पानी बोक्ने सवारीसँग लिफ्ट मागेर घर पुगेको बताउँछन्।

चिउरा र पानीको भर

सातदोबाटोबाट राति नौ बजे हिँडेका उनीहरू आफ्नो साथमा चिउरा, भुजिया र पानी बोकेकोले भोकभोकै हिँड्न नपरेको अनुभव सुनाउँछन्। उनले भने, “यसरी घर पुग्नुपर्ला भनेर सोचेकै थिइनँ। अहिले हामीलाई देखेर घरमा सबैजना खुसी हुनुभएको छ। अब कोरोनाभाइरसको डर हटेपछि मात्र काठमाडौं फर्किन्छु।”

उनका अनुसार कठिन यात्राका क्रममा बिचल्लीमा परेका यात्रुहरुलाई प्रहरी, प्रशासन तथा स्थानीयले समेत सहयोग गरेका थिए। तर त्यसरी यात्रुहरुको उद्धारका लागि स्थानीय निकायमा कुनै व्यवस्था नभएको भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले बताइन्।

युवा उद्यमी मञ्चका अध्यक्ष दाताराम घिमिरेका अनुसार उनको संस्थाले लामो बाटो हिँडेर आउने यात्रुलाई चितवनमा खाना खुवाउँदै आएको छ।

भोकालाई खाना खुवाउने ट्राफिक प्रहरी

अस्थायी ट्राफिक प्रहरी पोस्ट, कटारी, उदयपुरमा कार्यरत प्रहरी जवान नवीन दाहाललाई एक स्थानीय व्यक्तिले गत सोमवार फोन गरेर भारतीय नम्बर प्लेटको ट्रकमा केही मानिस चढेको खबर गरे।

अनुसन्धानका क्रममा ती मानिसहरू सोलुखुम्बुस्थित एउटा जलविद्युत् आयोजनामा काम गर्ने सप्तरी र सिरहा घर भएका मजदुर भएको खुलेको दाहालले बताए। सवारी अनुमति लिएको ट्रकचालकलाई अनुरोध गरेर ती मजदुर आफ्नो गन्तव्यतर्फ जाने प्रयासमा रहेको प्रहरीको भनाइ छ।

उदयपुरस्थित त्रियुगा नगरपालिका-३ घर भएका ट्राफिक प्रहरी दाहालले भने, “सुन्निएका र धुलैधुलोले छोपिएका खुट्टा, सुकेका ओठमुख देख्नेबित्तिकै उनीहरू भोको र थकित रहेको मैले चाल पाएँ।”

ती मजदुरहरूले सोलुखुम्बुबाट एकसाता हिँडेर उदयपुरको घुर्मीसम्म पुगेको र एक सातासम्म केही खान नपाएको बताएपछि आफूले तत्कालै उनीहरूलाई खुवाउने निर्णय गरेको बताए।

उनले भने, “ती मजदुरहरू हिँड्न नसक्ने अवस्थामा रहेकोले र ट्रकमै राखेर पठाउन पनि नमिल्ने भएकोले मसँग रहेको ४०० रुपैयाँले चिउरा, भुजिया र पानी किनेर खुवाएँ।”

“तत्काल चिउरा र भुजिया खान पाउँदा उनीहरूले व्यक्त गरेको खुसी र आशीर्वाद मेरा लागि ठूलो कुरा हो। मैले मानवीय नाताले उनीहरूलाई सहयोग गरेको हुँ,” उनले थपे।

आफ्नो तलब पनि नआइसकेको र खल्तीमा धेरै पैसा नभएकोले आफूसँग भएको पैसाले उनीहरूलाई खानेकुरा किनिदिएको ट्राफिक प्रहरी दाहालले बताए।

प्रहरीले यसरी सहयोग गर्दो रहेछ भनेर उनीहरूले पटकपटक आश्चर्य प्रकट गरेको समेत उनले बताए। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्