अमेरिकाको न्यूयोर्क राज्यमा अरू देशको भन्दा बढी कोरोना सङ्क्रमित



अमेरिका : अमेरिकामा कोभिड-१९ बाट अतिप्रभावित न्यूयोर्क राज्यमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू कुनै देशको कुल सङ्क्रमणको सङ्ख्याभन्दा बढी देखिएको छ।

ताजा तथ्याङ्कअनुसार न्यूयोर्क राज्यमा कोरोनाभाइरस सङक्रमणको सङ्ख्या बिहीवार १०,००० थपिएर १,५९,९३७ पुगेको छ। स्पेनमा १,५३,००० र इटलीमा १,४३,००० जना व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।

गत वर्षको डिसेम्बरमा पहिलो पटक कोरोनाभाइरस देखा परेको चीनमा ८२,००० जनामा सङ्क्रमण पाइएको छ। पूरै अमेरिकामा ४,६२,००० जनामा सङ्क्रमण पाइएको छ र त्यहाँ १६,५००को मृत्यु भएको छ। विश्वभरि १६,००,००० व्यक्ति सङक्रमित भएका छन् भने अहिलेसम्म ९५,००० को मृत्यु भएको छ।

न्यूयोर्क राज्यमा कोरोनाभाइरसका कारण ७,००० जनाको मृत्यु भएको छ। सङ्क्रमित व्यक्तिको सर्वाधिक भए पनि त्यहाँ मृत्यु हुनेको सङख्या स्पेन (१५,५००) र इटली (१८०००) भन्दा कम छ। तर त्यो सङ्ख्या चीनमा मृत्यु भएकाहरूको आधिकारिक सङ्ख्या (३,३००) भन्दा बढी छ।

यसैबीच न्यूयोर्क सहरमा बनाइएको सामूहिक चिहानमा शवहरू गाड्ने काम सुरु गरिएका तस्बिरहरू सार्वजनिक भएका छन्।

सामूहिक चिहान

ब्रोङ्क्स अस्पतालदेखि पारीपट्टि अवस्थित हार्ट टापुमा खिचिएको तस्बिरमा सामूहिक चिहान बनाइएको ड्रोन तस्बिर सार्वजनिक भएको छ। त्यहाँ अन्तिम संस्कार गर्ने आफन्त नभएका बेवारिसे शव वा विपन्न परिवारका मृतकको शव गाड्ने गरिएको छ।

अधिकारीहरूका अनुसार त्यहाँ शव गाड्ने काम सातामा एक दिन गर्ने गरिएकोमा महामारीका कारण त्यसलाई हप्तामा पाँच दिनको लागि थालनी गरिएको छ।

यसै साता न्यूयोर्कका मेयर बिल दे ब्लाजिओले हार्ट टापुलगायतका सार्वजनिक चिहानहरू शव गाड्न प्रयोग गर्न सकिने सङ्केत गरेका थिए। बुधवार मात्रै न्यूयोर्कमा कोरोनाभाइरसका कारण ७९९ जनाको ज्यान गएको थियो।

त्यहाँका गभर्नर एन्ड्रू कुओमोले मानिसहरूलाई केही आश्वस्त पार्ने प्रयास गर्दै न्यूयोर्कका अस्पतालमा कोभिड-१९ का कारण भर्ना गरिएका बिरामीको सङ्ख्या घट्न थालेर त्यो दोस्रो दिन २०० मा झरेको बताए।

सुधार

उनले मानिसहरूले सामाजिक दूरी कायम गर्न थालेर अवस्थामा सुधार भएको बताए।

अमेरिकी विज्ञ एवं ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलका एक प्रमुख सदस्य डाक्टर एन्थोनी फाउसीले एनबीसी न्यूजको टुडे कार्यक्रममा बोल्दै कोभिड-१९ का कारण ज्यान जाने अमेरिकीहरूको सङ्ख्या “६०,००० मा रोकिन सक्ने” बताएका छन्।

मार्च महिनाको अन्त्यतिर उनले मृत्यु हुनेको सङ्ख्यामा १,००,००० देखि २,००,००० सम्म पुग्न सक्ने बताएका थिए।

त्यो सङ्ख्या अक्टोबर २०१९ देखि मार्च २०२० सम्मको अवधिमा अमेरिकामा फ्लू रोगका कारण ज्यान जाने अमेरिकीहरूको अनुमानित माथिल्लो सङ्ख्यासँग मेल खान्छ।

बिहीवार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले फ्लूभन्दा कोभिड-१९ तीनगुना बढी सङ्क्रामक भएकोमा जोड दिएका थिए। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्