उपनिर्वाचनको प्रस्तावले नेकपा एकता प्रक्रिया टाढियो



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीको एकता प्रक्रियाको कार्यसूची प्रभावित भएको छ। गौतमलाई उम्मेदवार बनाउने प्रस्तावसँगै जिल्ला, प्रदेश कमिटीको पूर्णता तथा जनवर्गीय संगठनको एकता प्रक्रिया प्रभावित भएको हो। 

 

उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक विरोध भएपछि सो विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ। साथै शीर्ष नेताबीच आपसी आशंकाको स्थिति समेत पैदा भएको छ।

 

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित भएका नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ खाली गर्न आफूले राजीनामा दिन तयार रहेकाले स्वीकृतिका लागि नेतृत्वलाई दिएका थिए। यही असोज २२ गतेको सचिवालय बैठकमा एकाएक प्रस्तुत भएपछि अन्य नियमित कार्यसूची प्रभावित भएको छ। 

 

तल्लो कमिटीसम्म पार्टी एकता विस्तार गर्नुपर्ने र सरकार सञ्चालन तथा समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएका बेला उपनिर्वाचनको सन्दर्भले विषयान्तर भएको थियो। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानन्धरको पत्र सचिवालय बैठकमा प्रस्तुत गरेपछि मात्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा जानकारी पाएका थिए। 

 

सोमबार पार्टी एकीकरणका विषयमा छलफल हुन नसकेपछि बुधबारलाई बैठक सारिएको थियो। तर बुधबार पनि बैठक नहुने जनाउँदै शनिबारको लागि सारिएको थियो। २७ गतेको लागि डाकिएको बैठकलाई पुनः स्थगन गर्दै दशैंको टीकाको पर्सिपल्टका लागि सारिएको छ। 

प्रतिक्रिया दिनुहोस्