सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेतालाई सम्मान



बाँके : सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिएको छ। साविक मध्यपश्चिमाञ्चल क्षेत्रबाट प्रतियोगितामा सहभागी भई स्वर्ण पदक विजेता खेलाडीलाई शनिवार नेपालगञ्जमा सम्मान गरिएको हो।  

 

खेलाडीलाई प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जनही दश–दश हजार रुपैयाँ, सम्मानपत्र र जर्सीले सम्मान गरेका हुन्।

 

सातौँ राष्ट्रिय प्रतियोगिता अघि गरिएको प्रतिबद्धता अनुसार र आठौँमा सहभागी हुने खेलाडीको हौसला बढाउन नगदबाट सम्मानित गरिएको क्षेत्रीय अध्यक्ष ओलीले जानकारी दिए।

 

 समितिले एथलेटिक्समा दुई स्वर्ण पदक विजेता यमसाजन सुनार (जाजरकोट), सुटिङ्गका समूह विजेता टोलीका सदस्यहरु बाँकेका संयोगकृष्ण श्रेष्ठ, दाङका अर्नव घिमिरे र पवन घिमिरे, सुटिङकै कृष्णा थापा (बाँके), भारोत्तोलनका प्रकाश केसी (बाँके), उसुका  दीपक हमाल (सुर्खेत),  जुडोका सोनु भट्ट (बाँके), कुस्तीका रमेश न्यौपाने (बाँके) र सफ्ट टेनिसका मेघा श्रेष्ठ (बाँके) लाई सम्मान गरिएको हो।  

 

अध्यक्ष ओलीले खेलकुदको विकासका लागि मुख्यमन्त्री रनिङशिल्ड प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिँदै प्रादेशिक खेलकुद परिषद गठन प्रक्रिया अन्तिम चरणमा रहेको बताए। ‘परिषद गठनका लागि ऐन, कानुन तयार भएर संसदबाट पारित हुने क्रममा रहेको मन्त्री बरालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्