प्रदेश २ स्वाब परिक्षण : २ सय ३२ को नेगेटिभ, ३ को पोजेटिभ



जनकपुरधाम : प्रदेश २ मा सोमबारसम्म ३ सय ७७ जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाब परिक्षण गरिएको छ ।

ति मध्ये २ सय ३५ जनाको रिपोर्ट आएकोमा २ सय ३२ जनाको निगेटिभ र ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । १ सय ४२ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार २ सय ८५ बेड क्षमताको १ सय ६० वटा क्वारेन्टाइनमा १ हजार २० जना शंकास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेशभरिमा अहिले १ हजार ३ सय ७७ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय २० बेड क्षमताको आईसोलेसनमा २५ जना भर्ना रहेको उनले बताए ।

सचिव घिमिरेका अनुसार रौतहटमा ७ सय ५ बेड क्षमताको १६ वटा क्वारेन्टाइनमा अहिले २ सय ३९ जनालाई र ७१ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ३५ बेड क्षमताको आईसोलेसन बेडमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ ।

त्यस्तै बारामा ४ सय ४ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा १३ जनालाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ वटा आईसोलेसन बेडमा अहिले १३ जना शंकास्पद बिरामीलाई राखिएको सचिव घिमिरेले जानकारी दिए । बारामा अहिले ५७ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

पर्सामा २ सय ८६ बेड क्षमताको १४ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ १ सय २६ जना क्वारेन्टाइनमा र ११ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको बिभिन्न ठाउँमा रहेको ३० बेडको आईसोलेसनमा अहिले ३ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

सप्तरीमा ५ सय ८७ बेड क्षमताको ३२ वटा क्वारेन्टाइनमा अहिले २ सय ३६ जनालाई निगरानीमा राखिएको छ भने २ सय २० जना होम क्वारेन्टाइनमा छन् । सप्तरीमा रहेको १३ वटा आईसोलेसन बेडमा अहिले कुनै पनि बिरामी नरहेको उनले बताए ।

सिरहामा २ सय ४६ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय ३२ जना र होम क्वारेन्टाइनमा ८९ जना रहेका छन् । त्यस जिल्लामा ४१ बेडको आईसोलेसन रहेकोमा त्यहाँ अहिले ५ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

धनुषामा ३ सय ६२ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय १६ जनालाई राखिएको उनले जानकारी दिए । यस जिल्लामा अहिले ६२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइसोलेशन रहेकोमा त्यहाँ ४ जना शंकास्पद बिरामीलाई आईसोलेसनमा राखिएको छ ।

त्यस्तै महोत्तरीमा ३ सय ३० बेड क्षमताको १७ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिलेसम्म ८ सय १७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ८३ जनालाई राखिएको छ । महोत्तरीमा २६ बेडको आईसोलेसन निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनैपनि शंकास्पद बिरामी नरहेको उनले बताए ।

सर्लाही जिल्लामा ३ सय ६५ बेड क्षमताको ३० वटा क्वारेन्टाइनमा अहिले ७८ जना रहेका छन् भने ५० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । १५ वटा आईसोलेशन बेड निर्माण गरिएपनि अहिले ति आईसोलेसनमा कुनैपनि शंकास्पद बिरामी आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्