सरकारको तयारी अपुग : डा.झा



जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका संक्रमित विरामीहरुको उपचारसम्बन्धि प्रदेश सरकारको तयारी अपुग रहेको चिकित्सकहरुले बताएका छन् ।

कोरोना भाईरसको मुद्दा राजनीतिक मुद्दा नभई विशुद्ध एउटा मेडिकल मुद्दा रहेकोले यसको टेष्ट, आइसोलेशन र परीक्षणका लागि सरकारको तयारी अपुग रहेको रगत रोग विशेषज्ञ ड.अजय झाले बताए ।

उनले भने,‘सरकारले जे गरिरहेको छ त्यो त सरकारलाई हेराउनुपर्ने आवश्यकता थियो, न कि भाषणमा सिमित भएर बस्ने ।’ सरकारले अहिलेसम्म विभिन्न समितिहरु बनाउने, पैसा विनियोजन गर्ने र विज्ञहरुको टोली गठन मात्र गरे पनि यथार्थमा केहि गर्न नसेकेकोमा उनले आपत्ति जनाए ।

सरकारको काम वर्तमान समयमा पूर्ण रुपले पूर्णता पाउन नसकेको गुनासो गर्दै उनले कोरोनाको परिक्षणबाट मात्रै रोग पत्ता लगाउन सकिने भएकोले यसमा सरकार असफल रहेको जिकिर गरे । प्रदेश २ को जनसंख्या ६० लाखको हाराहारीमा रहे पनि परिक्षण भने सुस्त गतिमा दैनिक ३ देखि ५ जनासम्मलाई मात्र भएको गुनासो गर्दै उनले प्रश्न गरे’ हाम्रो प्रदेशमा भारत लगायत अन्य देशबाट कति जना आए, कति जनामा संक्रमण छ त्यसको कुनै तथ्याङ्क सरकारसँग छ ?’

प्रदेशका विभिन्न अस्पतालहरुमा कोरोनाको लक्षण देखिएका उपचाररत विरामीको जाँचका लागि दक्ष जनशक्तिको अभाव रहेको बताए । प्रादेशिक अस्पतालको आईसोलेशन बेड क्षमता १२ रहे पनि एउटै कोठामा ६-६ जनालाई राख्नु भनेको विरामीलाई ठिक नभई झन विरामी बनाउनु हो, उनले भने,’६-६ जनासम्म एकै ठाउँमा बस्दा जसलाई कोरोनाको लक्षण हुँदैन उ पनि संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा संक्रमित हुन सक्ने खतरा बढ्छ ।’

सरकारसँग श्रोत साधनको अभाव रहेको र भाईरसको बारेमा अहिलेसम्म उपलब्ध डाटाहरु ईम्याच्योर रहेकोले भोलीको दिन झन भयावह हुन सक्नेमा उनको चिन्ता छ । एकातर्फ संक्रमितको संख्या दिनानु दिन बढिरहेको छ भने अर्कोतर्फ सरकार उदासिन बन्दै गएको छ, उनले भने,‘अन्य दिनहरुमा जनशक्तिको अभाव झेलिरहेको प्रदेश २ का अस्पतालहरुमा अहिले झन जनशक्ति कहाँबाट आउँछ ? यो चिन्ताको विषय बनेको छ ।’

प्रदेश २ सरकारले प्रदेशका अस्पतालमा आएर सेवा दिन अहिलेसम्म स्वास्थ्यकर्मीहरुलाई आह्वान नगरेको भन्दै सरकारसँग एम.डी, फिजिसियन र क्रिटिकल केयर चिकित्सकको संख्या कति छ ? उनले प्रश्न गरे । उनले प्रदेशमा विदेशबाट कति प्रवेश गरे, सिमानाकाबाट कति आए र कति गए त्यसको बारेमा सरकारसँग कुनै तथ्याङ्क नरहेकोले आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने आशंका व्यक्त गरे । सरकारसँग न्युन संख्यामा चिकित्सक उपलब्ध रहे पनि उनीहरुप्रति सरकार उदासिन रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्