ग्याङ्ग फाइटमा घाइते भएका युवककाे मृत्यु



राजविराज– राजविराज–१ मा‘ग्याङ् फाइट’मा परि घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। 

 

सप्तरी सदरमुकाम राजविराज–१ मा गत मंगलबार दुई समूहबीच झडप भएको थियो। सो झडपका क्रममा गम्भीर घाइते भएका राजविराज–१ का भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परि मृत्यु भएको पीडित परिवारले जनाएको छ। 

 

गाउँमै ग्याङ् फाइटमा परेका प्रेमको टाउकोमाथि काठको चिर्पटले प्रहार गरिएकाले रक्तश्राव बढी भएका कारण उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्य भएको पीडितका बुबा भन्नालालले बताए। 

 

मृतकका पारिवारिक स्रोतका अनुसार १२/१३ जनाको समूहले प्रेममाथि एक्कासी आक्रमण गरेको र सो आक्रमणमा उनी घाइते भएपछि तत्कालै विराटनगर लगेर टाउकोमा ५२ टाँका लगाई उपचार थालिएको थियो। 

 

यसैबीच प्रेमको शवसहित मृतकका परिवार, आफन्त तथा गाउँलेहरुले हिजो राजविराजमा प्रदर्शन गरेका छन्। प्रेमको शव विराटनगरबाट ल्याएर हत्यारालाई अविलम्ब पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो। राजविराजस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय अगाडि प्रेमको शवसहित प्रदर्शन गरिएको प्रर्दशनमा सहभागी रेमन्त यादवले बताए। प्रदर्शन गर्दै उनको शवलाई नगर परिक्रमासमेत गरिएको थियो। 

 

प्रदर्शनका क्रममा हत्यामा संलग्न हुनेको नाम ब्यानरमै किटान गरी अविलम्ब पक्राउ गर्न माग गरिएको छ। 

 

यसैबीच प्रेमको पुरानै रिसइबीका कारण हत्या भएको बताउँदै हत्यामा संग्लन व्यक्तिको तीव्र रुपमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। साथै घटनाबारे अनुसन्धानसमेत भइरहेको उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्