केन्द्रकाे हेपाइ : स्थानीय तहलार्इ दरबन्दीकाे अाधा मात्रै कर्मचारी



काठमाडाैं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको तथ्यांकअनुसार स्थानीय तहमा २९ हजार २ सय २९ कर्मचारी खटिएका छन् । यसमध्ये १७ हजार २ सय ९ साबिकको स्थानीय निकायका कर्मचारी हुन् ।

 

जब कि हाल स्थानीय तहमा ५७ हजार ६ सय २७ दरबन्दी छ । मन्त्रालयकै तथ्यांकअनुसार स्थानीय तहमा अहिले २८ हजार ३ सय ९८ दरबन्दी खाली देखिन्छ ।

 

तर, मन्त्रालय करिब ४० हजार कर्मचारी खटिएको दाबी गर्छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला कार्यालयहरूबाट धेरै कर्मचारी स्थानीय तहमा खटाएको, तर त्यसको तथ्यांक मन्त्रालयसँग नभएको प्रवक्ता सुरेश अधिकारीले बताए ।

 

तर, प्रवक्ताकै दाबीलाई मान्दा पनि स्थानीय तहमा झन्डै १८ हजार कर्मचारी अपुग छन् । वडाअन्तर्गत धेरै कर्मचारी आवश्यक रहेको, तर अभावमा पठाउन नसकिएको मन्त्रालय बताउँछ ।

 

सरकारले नगरपालिका र क वर्गको गाउँपालिकामा उपसचिव तहको कर्मचारी प्रशासन प्रमुख हुने व्यवस्था गरेको छ । तर, कुल २ सय ७६ नगरपालिकामध्ये २ सय ८ वटामा मात्र उपसचिव खटिएका छन् । ६८ नगरपालिकामा अधिकृतले निमित्त कार्यकारी प्रशासकका रूपमा काम गरिरहेका छन् ।

 

यस्तै, क वर्गका १ सय २६ गाउँपालिकामध्ये दरबन्दीअनुसार १४ वटामा मात्र उपसचिव खटिएका छन् । बाँकी सबैमा अधिकृतले निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । यस्तै, १३ गाउँपालिका सुब्बा तहका कर्मचारीले प्रशासकीय अधिकृत भएर चलाइरहेका छन् ।

 

अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्