विपतमा जिम्मेवार बन्ने कि भाग्ने ?



यतिबेला काठमाडौं पूरै सुनसान छ । कोरोनाभाइरस (कोभिड–१९)को कहरले विश्व नै बन्दाबन्दी भएका बेला म यो काठमाडौंमा डेरा र समाचार संकलनका लागि भन्दै फिल्डमा कुद्दै छु । म यही खाल्डोमा छु जहाँ न मेरा घरपरिवार छन् न मेरा साथीभाई । थाहा छ, रेडियोको नशाले मलाई घरभन्दा प्यारो जिम्मेवारी बनायो । अनि साथीभाई भन्दा नजिक दायित्व बनायो । मलाई पनि घर जान मन नभएको कहाँहो र तर जिम्मेवारीले बाँधेर राखेको छ । उसो त घरबाट दिनदिनै फोन आउन छोडेको छैन । “ज्यानभन्दा ठूलो जागिर होइन् छाडेर घर आइज मरे सँगै मरिन्छ ।” घरबाट आमाबाबा दिदिभाई सबैले भन्ने एउटै शब्द ३ हप्ताभन्दा बढि समयदेखि दोहोरिरहेको छ । बाहिरी जिल्लाबाट आएकाहरु प्रायः सबैले काठमाडौं छोडे । म जस्ता पत्रकार पनि सबै कहाँ छन् यो खाल्डोमा ।

“अरु आउन मिल्ने तँ आउन नमिल्ने के हुन्छ र अब त मिलाएर आईज ।” काठमाडौंमै धमाधम कोरोना देखिन थाल्यो भन्ने समाचारले बाबाको मन पोलिरहेको छ । म भन्छु, “ह्या सबै त्यसरी भाग्ने हो भने समाचार कसले सुनाउँछ र सुन्नुहुन्छ । म मात्र त छैन नी यो काठमाडौंमा डाक्टर, प्रहरी र पत्रकार यी सबैका बाबाआमाले घरमा बोलाउन थाले र सबै जिम्मेवारी छोडेर घर परिवार मात्रै भन्ने हो भने के हुन्छ ?” म बाबालाई सम्झाउन खाजेजसरी आफैलाई सम्झाउँछु । ‘एक मन भन्छ, ह्या घर जा, परिवार र स्वास्थ्यभन्दा ठूलो केही छैन । अर्को मन भन्छ, होइन, जिम्मेवारीभन्दा ठूलो परिवार र स्वास्थ्यमात्रै होइन । जिम्मेवारी निभाउन सके पो परिवार रहन्छ ।’ मनको वाद–विवाद जहिले दोस्रोले जित्ने गरेको छ । चाहे भूकम्पले तहसनहस पारेका बेलाहोस् चाहे अहिलेको कहरले ।

म सम्पूर्ण सुरक्षा सर्तकता अपनाएर समाचार सुनाइ रहेको छु । घर बसेमा बाबा–आमासँगै सबै सबैलाई । बाआमालाई मेरो आवाज सुनेपछि ढुक्क हुँदो हो । जसरी मलाई दिनभरको समाचारको काम सकेर डेरा फर्केपछि सन्तोष मिल्छ । साँच्ची तसलिमा नसरिनले भनेँझै यो राष्ट्रिय सिमा, युद्ध, विकास, सबै सबैभन्दा माथी त रोग रहेछ । स्वास्थ्य रहेछ ।

हिजोसम्मको त्यो लुछाँचुडी अहिले जे जती छ, त्यसैमा चित्त बुझाउँ भने जस्तो पो भयो त । ओहो, म फेरि कता हराएँ । रेडियोकर्मी हुनुको गर्व, म यसै लेखमा पोख्छु है ।

कोरोना कहरभन्दा पहिलाको एउटा घटना सुनाउँ म रेडियोमा बोल्ने मान्छे । एकजना साथीले भनेका थिएँ । “अहिले पनि कसले तिम्रो रेडियो सुनिरहन्छ ? खुरुक्क छोडेर अनलाइन या पत्रिकामा जमेर काम गर । यसरी कहाँ हुन्छ ?” ती साथीलाई यहि लेखबाट भन्दैछु, साथीविपद्मा सबैभन्दा प्रिय भनेकै रेडियो अनिविश्वासिलो पनि । थाहा छ, यो कोरोना कहरपछि रेडियो सुन्ने श्रोताको संख्या १० गुणाले बढेको छ, भलै माध्यम फरक होला । हिजो आज प्रविधिले फड्को मारेका कारण रेडियोका सामाग्री सामाजिक सञ्जालमा जान्छन् । अनलाइनमा जान्छन् । त्यहाँ अनलाइनपत्रिका वा छापापत्रिका भन्दा रेडियोले विश्वास जितिरहेको छ । छापा पत्रिकाका लागि हरेक बिहान कुरेर बस्ने अवस्था छैन । अनलाइन संस्करणमा छापिएका कुराले जन विश्वास गुमाउँदै गएको छ । एउटाले भ्रमको खेतीगर्दा त्यसको असर हजारौं विश्वासिला अनलाइन मिडियामा परेको अध्ययन मैले नजिकबाट गरेको छु । अनि साथी, गाउँघरमा पानासोनिक रेडियोमा ब्याट्री हालेरै सुन्ने श्रोता पनि अझै घटेका छैनन् है ।

दबाइएका आवाजहरुलाई स्वतन्त्रताको विगुलफुक्ने सानै देखिको चाहना थियो–मेरो । समयसँगै मेरो बुझाइ पनि परिपक्क हुँदै जाने क्रममा समाजका बेथिति र विसंगतिविरुद्ध लड्न सक्ने माध्यम रेडियो नै हो जस्तो लाग्यो । त्यसपछि रेडियोकर्मी बन्ने हुटहुटी चल्न लाग्यो । मैले रेडियोमा अवसर पनि पाए । आफुले चाहेको पेशा भएकाले होला यस क्षेत्रमा भएका समस्यालाई सहज रुपमा लिँदै पीडित र उत्पिडनमा परेका नागरिकहरुको आवाजलाई बुलन्दपार्ने काममै सक्रिय भएर लागि रहेको छुँ । मेरो रेडियो यात्रामा हालसम्म दुईवटा ठूलाठूला विपतलाई नजिकबाट हेर्नै मौका पाए । विपतमा सञ्चारकर्मीको भुमिका र विश्वसनियता कति हुँदो रै छ भन्ने २०७२ सालको भूकम्पका समयमा जनताले गरेको भरोसालाई लिएको छुँ । सबै सूचनाका माध्यमहरु बन्द हुँदा पनि अहोरात्र खटिएका रेडियोकर्मी साथिहरु र घरबार विहिनभएर खुल्ला आकाश मुनि कानमा रेडियो सुन्दै सूचना लिइरहेका दृश्यहरुले हामी रेडियोकर्मीहरुलाई अझ् जिम्मेवार बन्नारहेको थियो ।

हामी त्यस्ता खुल्ला आकाश मुनि भेटिएका पीडितहरुको आवाजलाई जस्ताको त्यस्तै रेडियोबाट प्रशारण गर्दथ्यौ भने सम्बन्धित निकायले पीडितहरुको राहात र उद्धारकालागि गरिरहेका पहलहरु पनि जानकारी गराइरहन्थ्यौ । त्यसैले होला आफ्ना समस्याहरु र समाधानका पहलसँगै कहाँ के भइरहेको छ भनेर सहि सूचनाकालागि सर्वसाधरणहरु रेडियोलाई काखी च्यापिरहेका थिए । हामी जनताको सहि सूचना पाउने हकको रक्षा गर्दै जनताहरुको विश्वास जितेर २०७२ को भूकम्पको पीडा भुल्दै गर्दा अहिले फेरी हामीसँग अर्को चुनौती थपिएको छ । भूकम्पको बेला त एक अर्कौ सँग हातेमालो गर्दै सक्नेले नसक्नेलाई साथ दिएका थियौ । तर, कोरोनाभाइरसले त एक अर्का सँगनै दुरी कायम गरि दिएको छ । जब कि चाहेर पनि अर्को व्यक्तिसँग नजिकिन सकिएको छैन ।

भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ अहिले नेपाल मात्र होइन विश्वनै थुनिएको छ । यो बेला फेरी रेडियोकर्मीको काधमा थप जिम्मेवारी थपिएको छ । समाजिक दुरीका कारण हामी पनि सिमित भएका छौँ । पाँच जनाको डिउटी एक जनाले गर्नुपर्ने बाध्यता अनि जनतालाई सही र ताजा सूचना दिनुपर्ने जिम्मेवारी पनि हामीसँग छ । चाहे भूकम्पका बेला होस् वा बाढीपहिरो बखत होस्, वा कोरोनाले देश पूरै ठप्प भएको बेला होस् । अरु सबै ठप्प हुँदा पनि नागरिकलाई निरन्तर सूचना सम्प्रेषण गर्ने आफ्नो दायित्वबाट रेडियोहरु कहिल्यै पनि पछि परेका छैनन् । रेडियो श्रोताको अनुकूलको माध्यम रेडियो सेट, मोबाइल, ल्यापटप लगायतबाट सुन्न सकिन्छ । फ्रिक्वेन्सीमा रेडियो सुन्दा टेरिस्टोरियलको प्रसारण क्षेत्रमा सिमित हुनुपर्ने अवस्थाबाट अनलाइन एवं सामाजिक सञ्जालमार्फत संसारभर सुन्न सकिने अवस्था छ । हुनत पछिल्लो समय आमसञ्चार र सामाजिक सञ्चारकामाध्यमहरु विभिन्न रुपमा आइरहेका छन ।

तर, पहुँचको हिसाबले रेडियो नै सबैभन्दा प्रभावकारी र विश्वसनियमाध्यमका रुपमा खडा भएको छ । रेडियोकर्मी भएको हुनाले पनि रेडियोको विश्वसनियतालाई नजिकबाट भोगेको छु । एउटै समाचार जस्टिफाइ गर्नका लागि सयौं पटक सयौं व्यक्तिलाई सम्पर्क गरेको अनुभवले पनि होला सबै रेडियोकर्मीको लगनशिलता र भोगाइबुझेको जस्तो लाग्छ । पछिल्ला समय आमसञ्चार र सामाजिक सञ्चारकामाध्यमहरु सक्रिय भए पनि तीनहरुको तुलनामा स्थानीय रेडियो आमनागरिकका लागि सूचना र जानकारी पाउने सबैभन्दा सजिलो माध्यम हो । यात्रा गर्दै गर्दा वा काम गर्दै गर्दा पनि रेडियो सुन्न सकिने भएकाले यो विपन्न र जोखिमपूर्ण अवस्थामा रहेका समुदायको समेत सञ्चार साथी बनेको छ । विपद् एवं संकटको घडीमा अत्यावश्यक जानकारी देखि राहत र उद्घारको जानकारीका लागि रेडियोमै निर्भर हुनुपर्ने अवस्था छ ।

तथ्याङ्गकाअनुसार सामान्य परिस्थितीमा पनि ६० प्रतिशत नेपाली नागरिकले सूचना पाउने पहिलो माध्यम रेडियोलाई रोजेका छन् भने प्राकृतिक विपत्ती, निर्वाचन र प्रकोप जस्ता असामान्य बेलामा ९० प्रतिशत नेपाली नागरिकले स्थानीय रेडियोबाट सूचनालिने गरेको तथ्याङ्गले बताउँछ । त्यसैले विपतको अवस्थामा रेडियोकर्मी अझ जिम्मेवार भएर लाग्नुपर्ने बोध भएको छ । अनि रेडियोकर्मी भएर जनतालाई सुसूचित गराउन पाउदा छाति चौडा भएको छ ।
प्रकाश बस्याल, नेपाल एफएम नेटवर्कमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्