धनौजी गाउँपालिकाको कार्यालयमा वडाध्यक्षले नै गरे तोडफोड



जनकपुरधाम : धनुषाको एक स्थानीयतहमा राहत वितरण गर्ने विषयमा दुई पक्षबिच विवाद भएको छ ।

दुई पक्षबिच झडप हुँदा धनुषाको धनौजी गाउँपालिकाका एक जनप्रतिनिधिले नै कार्यालयमा तोडफोड गरेको आरोप लगाएका छन् ।

धनौजी गाउँपालिकाको कार्यालयमा वडा नम्बर(३ का वडाध्यक्ष रामदुलार मण्डल पक्षका व्यक्तिहरूले तोडफोड गर्दै तालाबन्दी गरेका हुन्।

उनीहरूले गरेको तोडफोडका कारण कार्यालयको पार्टिशनमा क्षतिपुग्नुको साथै एक दर्जन प्लाष्टिकका कुर्सी भाँचिएको अध्यक्ष बद्री सिंहले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष सिंहलाई समेत वडाध्यक्ष पक्षधरका व्यक्तिले कर्मचारी सहित कार्यालयमै केहीबेर थुनेका थिए।

अध्यक्ष सिंहले भने,‘वडाध्यक्षले राहतका लागि ९ सय २६ जनाको विवरण लिएर आएका थिए। तर त्यसमा सर्वदलीय समितिमा रहेका पार्टी प्रतिनिधिहरुको हस्ताक्षर थिएन । त्यही कुरा आफुहरुले भनेपछि वडाध्यक्षले विवाद गरेर झडपको अवस्था सृजना गरे ।ु

राहत वितरण गर्न प्रदेश सरकारको मापदण्ड अनुसार विवरण संकलन गर्नुपर्ने अध्यक्ष सिंहले बताए । उनले वडाध्यक्षले हुने खाने व्यक्तिको पनि विवरण संकलन गरेकोले त्यसो नगर्न सुझाएपछि विवाद खडा गरि कार्यालय तोडफोड गरेको दुःखेसो सुनाए ।

यता वडाध्यक्ष मण्डलले राहत वितरणको विवरण गाउँपालिकाको कार्यालयमा बुझाउन जाँदा अध्यक्ष सिंहले बखेडा गर्न खोजेपछि सामान्य विवाद भएको बताए ।

प्रतिक्रिया दिनुहोस्