प्रादेशिक अस्पतालमा ५० शैयाको आइसोलेसन वार्ड निर्माण हुँदै, स्थानीयद्धारा बिरोध



जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पतालको हाता भित्रै रहेको नर्सिङ्ग कलेजको छात्रावासमा आइसोलेसन वार्डको निर्माण हुन लागेपछि स्थानीयवासीले बिरोध जनाएका छन् ।

घनावस्तीको बिचमा रहेको छात्रावासलाई आइसोलेसन वार्डको रुपमा परिणत गर्नै लाग्दा जनकपुरधाम वडा नं.१० का स्थानीयवासीहरु बिरोध जनाएका हुन् । जनकपुरधाम १० का स्थानीय मनोज कुमार झाले सरकारले त्यहाँ आइसोलेसन वार्ड छात्रावास निर्माण गर्ने निर्णय गरेर अपरिपक्व निर्णय गरेको आरोप लगाए ।

उनले आइसोलेसन वार्ड निर्माण गर्दा पूरै टोलमा संक्रमण बढ्न सक्ने डर रहेकोले यसलाई घनावस्ती बाहिर निर्माण गर्न सुझाव दिए । स्थानीय जिवेश झाले विकल्पहरु हुँदा हुुँदै घनावस्तीको बिच आइसोलेसन वार्ड निर्माण गर्नु आफूहरुलाई मान्य नरहेको बताए ।

उनले अव्यवस्थित हिसाबले गरिदैं आएको यो निर्माण कार्य हाम्रो पूरै वडालाई खतरामा पुर्याउनसक्ने तर्फ सचेत हुन सम्बन्धित निकायलाई आग्रह गरे । यता स्थानीयहरुको बिरोधलाई निमित्त मेसु डा.जामुन सिंहले स्वाभाविक रुपमा लिएका छन् । यद्यपि स्थानीयको सुरक्षालाई ध्यानमा राखेर नै निर्माण कार्य भईरहेको उनले दावी गरे ।

छात्रावास नजिकै रहेको २ वटा घरबेटीलाई छात्रावास तर्फको झ्याल ढोका नखोल्न आग्रह गरिसकेको उनले जानकारी गराए । डा.सिंहले छात्रावास नजिकै रहेको बाटोलाई प्रत्येक दिन सेनिटाइज गर्ने हाम्रो योजना रहेको समेत बताए ।

यता,नेपालमा समेत कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सावधानी अपनाउनका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइसोलेसन वार्डको निर्माण कार्य युद्ध स्तरमा भईरहेको छ । प्रादेशिक अस्पतालमा ईमरजेन्सी सर्भिस मात्रै चालु रहेको अवस्थामा इसेन्सियल सर्भिस समेत दिनुपर्ने आवश्यक रहेको भन्दै संघ सरकारले तीन दिन पहिला मात्रै आइसोलेसन वार्ड निर्माण गर्न पत्र पठाएको थियो ।

सो आइसोलेसनमा कोरोनाको लेभल २ सम्मको जटिल प्रकृतिका बिरामीहरुकोसमेत उपचार गरिने छ । संघ सरकारले राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, जनकपुरधामस्थित जानकी मेडिकल कलेजमा कोरोना लेभल १ र जनकपुरधामस्थित प्रादेशिक अस्पताल तथा वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना लेभल २ सम्मको उपचार गर्ने निर्णय गरेको हो ।

प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जामुन प्रसाद सिंहले नेपाल सरकारको निर्देशन अनुसार प्रादेशिक अस्पतालमै सुविधा सम्पन्न आइसोेलेसन वार्डको निर्माण गर्न निर्देशन दिएपछि सोको निर्माण कार्य भईरहेको जानकारी दिए । उनका अनुसार प्रादेशिक अस्पतालको प्राङ्गणमै रहेको नर्सिङ्ग क्याम्पसको छात्रावासलाई आइसोलेसन वार्डको लागि तयार पारिदंैछ । छात्रावासमा ५० शैयाको आइसोलेसन वार्ड तयार पारिदैंछ । यसको निर्माण जति छिटो चाँडै सम्पन्न गरेर जानकारी गराउन निर्देशन आएको डा.सिंहले बताए ।

निमित्त मेसु सिंहले आइसोलेसन वार्ड बाहिर संक्रमण फैलिन नदिनका लागि झ्यालहरुलाई एयर ब्लक, प्रत्येक कोठामा एसी लगाउने, ठाउँ ठाउँमा सीसीटिभी लगाइने बताए । जटिल प्रकृतिका बिरामीहरुलाई सीसीटिभीबाटै निगरानीमा राखिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्