मोबाइलदेखि अटोमोबाइलसम्मको बिक्री घट्यो



काठमाडौं: १०–१५% ले वृद्धि हुँदै आएको स्टिल र सिमेन्ट बिक्री ७–८% घट्यो

स्टिल र सिमेन्टको व्यवसाय हरेक वर्ष १०–१५ प्रतिशतले वृद्धि हुँदै आएको थियो । यस वर्ष अझ बढ्ने अनुमान गरिएको थियो । तर, यस वर्षको पछिल्लो केही महिनामा यी दुवै उत्पादनको बिक्री ७–८ प्रतिशतले घटेको उद्योगीहरूको भनाइ छ । देशमा विकासका ठूला आयोजना थपिएका छैनन् । अझ खुद्रा व्यवसायी त धेरै निराश छन् । सिमेन्ट, छडलगायतको निर्माण सामग्रीको व्यापार ३० देखि ४० प्रतिशतसम्मले घटेको निर्माण सामग्री व्यापार संघ, काठमाडौंका अध्यक्ष अच्युतम कटुवालले जानकारी दिए । गिटी, बालुवा, इँटा, प्लम्बिङका सामानलगायतको व्यापार पनि सोही अनुपातमा घटेको छ । ‘बैंकले कर्जा नदिएपछि निर्माणको क्रम रोकिएको छ,’ उनले भने । 

मोबाइल बिक्री ६०% घट्यो

समग्र विद्युतीय सामग्रीको बिक्री ३५% घट्यो

तरलताको अभाव तथा कालोबजारीका कारण मोबाइल सेटको वैधानिक बिक्री ६० प्रतिशतसम्मले घटेको व्यवसायीहरू बताउँछन् । दसैँपछिको अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मोबाइल सेटको बिक्री ५० देखि ६० प्रतिशतले घटेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन् । नेपालमा सामसङ मोबाइल तथा इलेक्ट्रोनिक्सका आधिकारिक बिक्रेतासमेत रहेका गोल्छाले भने, ‘समग्रमा इलेक्ट्रोनिक्स सामग्रीको बिक्री ३५ प्रतिशतसम्म घटेको छ ।’ चालू आर्थिक वर्ष ०७५/७६ को पाँच महिनामा ८ अर्ब ८० करोड रुपैयाँमा १९ लाख ३१ हजार थान मोबाइल फोन भित्रिएका छन् । तर, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने १० अर्ब ५१ करोड रुपैयाँमा २७ लाख २७ हजार थान मोबाइल आयात भएका थिए । 

मदिराको बिक्री २५%ले घट्यो

मदिराको खुद्रा व्यापार पनि २५ प्रतिशतको हाराहारीमा घटिसकेको मदिरा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष नवीनलाल श्रेष्ठले बताए । बिक्री घट्दा देशभरका ७७ जिल्लामा रहेका करिब ४५ हजार मदिरा व्यवसायीलाई प्रत्यक्ष असर परेको उनको भनाइ छ । अर्थतन्त्रमा सुस्तता आएका कारण उपभोक्ताको क्रयशक्तिमा कमी आएपछि गुणस्तरीय मदिराको बिक्री घटेको र सस्तो मदिरा र बियरको खपत बढेको छ । ‘५० युपीभन्दा माथिका गुणस्तरीय मदिराको बिक्री २० देखि २५ प्रतिशतसम्म घटेको छ,’ अर्का एक उद्योगीको भनाइ छ, ‘५० भन्दा मुनिका ७० युपीसम्मका मदिरा बिक्रीको परिमाण बढेको छ । उपभोक्ताहरू सस्तो मूल्यका बियरतर्फ पनि आकर्षित भएको देखिन्छ,’ उनले भने । समग्र मदिराबजारमा समस्या सिर्जना गरेको उनको भनाइ छ । 

गाडी बिक्री ५०% सम्म घट्यो

८०–९० प्रतिशतसम्म कर्जा लिई गाडी खरिद हुँदै आएकोमा राष्ट्र बैंकले बढीमा ५० प्रतिशत मात्र फाइनान्स गर्न पाउने व्यवस्था गरेपछि अटोमोबाइलको बिक्री ३० देखि ५० प्रतिशतसम्म बिक्री घटेको छ । नयाँ व्यवस्था तथा बजारमा तरलता अभावका कारण दसैँंपछि गाडीको व्यापार चिन्ताजनक रूपमा खस्किएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए । ‘विभिन्न कम्पनीको बजार हिस्सा र बिक्रीदर हेरेर ३० देखि ५० प्रतिशतसम्म बिक्री घटेको छ,’ उनले भने । उनका अनुसार बिक्री घटेपछि गाडी आयातसमेत गर्न नसकी भन्सार यार्डमा थन्किएको छ । ‘दसैँंअघिबाट अर्डर गरिएका गाडी भन्सार यार्डबाट छुटाउन नसकी रोकिएर बसेका छन् । कमर्सियल र निजी सवारी जोड्दा अहिले करिब ८ हजार गाडी भन्सार यार्डमा छन्,’ उनले भने । 

दैनिक उपभोग्य वस्तुको बिक्री निराशाजनक

सामान्यतया दैनिक उपभोग्य वस्तुको बिक्री बढ्दो हुन्छ । दाल, चामल, तेल, बिस्कुट, चाउचाउ, चिनी, चियापत्ती, जुस, साबुन, स्याम्पुलगायतको बिक्री जनताले दैनिक प्रयोग गर्नुपर्ने हुनाले घट्दैन । तर, पछिल्लो समय साबुन, स्याम्पु, चाउचाउदेखि चुरोटसम्मको बिक्री घटेको व्यवसायीहरू बताउँछन् । तर, व्यवसायी भन्छन्, ‘दैनिक उपभोग्य वस्तुको बिक्री पनि घट्नु आश्चर्यजनक हो ।’ बजेटले इनर्जी डिं«क्स, जुस, चकलेटदेखि जंकफुडसम्ममा अन्तःशुल्क लगाएपछि त्यसको प्रभाव बिक्रीमा देखिएको खवर नयाँपत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्