बाघकाे आक्रमणबाट मृत्यु



बाँके : बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ । बाघकै आक्रमणमा परी ३० वर्षीय विजय बुढा घाइते भएका छन् । बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ ।

 

बाघकाे आक्रमणबाट घाइते भएपछि दुवै जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएकाे थियाे । शाहीको उपचारका क्रममा मृत्यु भएको हो । 

प्रहरी चौकी जमुनीका इन्चार्ज प्रहरी नायब निरीक्षक लोकेन्द्र कार्कीका अनुसार गौघाटबाट सीतापुर जाने पक्की पुलको बाटोमा सोमबार साँझ उनीहरुलाई पाटेबाघले आक्रमण गरेको थियो । रहरबारीमा रहेको पाटेबाघले पहिले शाहीलाई आक्रमण गरेको हो ।

 

'शाहीलाई बाघले आक्रमण गरेलगत्तै पुनः विजय बुढामाथि बाघ जाइलागेको थियो', स्थानीय गणेश राईले भने । सो क्षेत्रमा सुरक्षाका लागि इलाका प्रहरी चौकी मैनापोखर, प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्पबाट सुरक्षाकर्मी घटनास्थलमा खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्