प्रक्रिया नै पूरा नगरी लाखाैं कुम्ल्याउन खाेजियाे



बझाङ : जिल्लामा कार्यरत गैरसरकारी संस्था सामाजिक तथा प्रविधिक विकास सेवा समूहले विभिन्न पदमा नियुक्त गरेका कर्मचारीले वर्ष बित्नसमेत पारिश्रमिक पाएका छैनन् । 

 

बित्थडचिर गाउँपालिका ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा बित्थरचिर गाउँपालिकासँगको साझेदारीमा सामाजिक तथा प्राविधिक विकास सेवा समूहद्वारा सञ्चालित गाउँपालिकास्तरिय आवधिक योजना तयारी कार्यक्रमका लगि उक्त संस्थाले विभिन्न पदमा कर्मचारी नियुक्त गरेको थियो ।

 

फिल्ड कोडिनेटर एक, ओभरसियर तीन र सामाजिक गणक पदमा १० जना गरी १४ जना कर्मचारीलाई ०७४ चैत १५ गतेदेखि लागु हुने गरी २०७५ असार ३० सम्म ३ महिना १५ दिनका लागि नियुक्त गरिएको थियो ।

 

खटाएको आठ महिना बितिसक्दा समेत तलब नपाएको भन्दै कर्मचारीहरुले गुनासो गरेका छन् ।

कार्यालयले नियुक्ति पत्रमा नै स्पष्ट रुपमा ओभरसिएर लाई २२ हजार र सामाजिक गणक लाई १५ हजार न्यूनतम तलब तोकिएको थियो । 

 

सामाजिक गणक पदमा कार्यरत दीपेन्द्र बोहराले भने, ‘लगातार तीन महिना १५ दिन काम गरें, नियुक्ति अवधि पनि पूरा भयो । तर, तलब पाउने कुनै सुरसार देखिएन’, उनले थपे, ‘कार्यालयमा सम्पर्क गर्दा एक दुई दिनमै आउँछ भन्दै महिनौं टारियो त्यसपछि पालिकालाई नै सोध्नुस् भनियो, गाउँपालिकामा खबर गर्दा संस्थाले दिन्छ भन्दै पार लगायो ।’

 

लगातार पारिश्रमिक पाउनुपर्ने भन्दैै सम्बन्धित निकायमा बारम्बार खबर गर्दा पनि कुनै चासो नदेखाएकाले मिडिया गुहार्न बाध्य बनाएको उनले गुनासो पोखे । 

 

अर्का पीडितले काम पारिश्रमिक माग्दा संस्थाबाट तपाईहरुको नियुक्ति बढ्दै छ भन्ने प्रलोभन देखाएको बताए । तर पारिश्रमिकको भने अत्तोपत्तो नभएको उनी बताउँछन् । 

 

सामाजिक तथा प्राविधिक विकास सेवा समूहका अध्यक्ष कलक खत्रीले बित्थडचिर गाउँपालिकाले कार्यान्वन प्रक्रियामा सहमति गरे पनि रकम निकासा नगरेको र आफूसँग कर्मचारीलाई तलब दिने स्रोत नभएको बताएका छन् ।

 

योजनाका कार्यक्रम अघि बढे पनि गाउँपालिकाले बजेट निकासा नगरिदिँदा कर्मचारीले तलब नपाएका हुन् । 

 

बित्थडचिर गाउँपालिका अध्यक्ष प्रेम बोहराले भने सामाजिक तथा प्राविधिक विकास सेवा समूहसँग गाउँपालिकास्तरीय आवधिक योजना तयारी कार्यक्रमका लागि बजेट विनियोजन गरी सहमति गरे पनि बजेट निकासाको प्रक्रिया नमिलेको बताए । उक्त कार्यक्रमका लागि बित्थडचिर गाउँपालिकाले २० लाख बजेट विनियोजन गरेको उनले बताए । 

 

कुनै पनि स्थानीय तहले आफ्ना कार्यक्रम संघसंस्थालाई दिँदा टेन्डर आह्वान गरी राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्नेबारे आफुहरुलाई जानकारी नभएको भन्दै गल्ती भएको अध्यक्ष बोहराले बताएका छन् । उनले अर्को आर्थिक वर्षमा टेन्डर आह्वन गरी उक्त कार्यक्रम सामाजिक तथा प्रविधिक विकास सेवा समूहलाई नै दिने र आगामी वर्ष तलब भत्ता पूर्ति गर्ने जानकारी दिए । 

 

टेन्डर नै नखोली उक्त समूहलाई कार्यक्रम दिनु र फेरि उक्त कार्यक्रम त्यही संस्थालाई दिनु भन्नु शंकास्पद भएको स्थानीयको बुझाइ छ । 

 

स्थानीय तह गठन भएको यस अवधिमा गाउँपालिकामा ३ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन । प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा नभएको बेला प्रशासन तर्फका थुप्रै कर्मचारी भए पनि प्राविधिकतर्फका अहेवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइँदै आएको छ । 

संस्थाले दिपेन्द्र बाेहाेरालार्इ दिएकाे नियुक्तिपत्रकाे नमुना

प्रतिक्रिया दिनुहोस्