स्वास्थ्य प्रतिष्ठानमा आन्दोलन रोक्न अन्तरिम आदेश



तुल्सीपुर :  तुल्सीपुर उच्च अदालतले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करारका कर्मचारीहरुले गरिरहेको आन्दोलन तत्काल रोक्न आदेश दिएको छ ।

कायममुकायक मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार प्रतिष्ठान समेतको नाममा यस्तो अन्तरिम आदेश जारी गरेको हो । स्वास्थ्योपचार सेवा जस्तो अत्यन्त आवश्यकीय र संवेदनशील निकायमा हडताल गर्दा नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुने हुँदा तत्काल आन्दोलन रोक्न अन्तरिम आदेश जारी गरिएको सो अदालतले जनाएको छ ।

नागरिक स्वास्थ्य सम्वन्धी हकको उपभोग गर्नबाट कोही पनि बञ्चित हुने अवस्था हुनु हुँदैन भन्दै इजलासले अस्पतालमा गरिएको आन्दोलन तथा हड्ताल जन्य क्रियाकलाप रोक्न आदेश दिएको हो । इजलासले त्यस विषयमा लिखित जवाफ पेश गर्न आन्दोलनरत कर्मचारीसहित प्रतिष्ठानको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ ।

करारका कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरेपछि त्यसबाट नागरिकको स्वास्थ्योपचार सेवा प्रभावित भएको भन्दै अधिवक्ता सन्तोष पोखरेलले तुल्सीपुर उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । तलब सुविधा र सेवाको सुनिश्चितताको मागसहित प्रतिष्ठानमा कार्यरत करारका कर्मचारीहरु गत एक महिनादेखि आन्दोलन गर्दैआएका थिए ।

प्रतिक्रिया दिनुहोस्