प्रदेश २ मा ५७९ को स्वाब परिक्षण, ५३६ को नेगेटिभ,४ को पोजेटिभ, ३९ जनाको नतिजा आउन बाँकी



जनकपुरधाम : प्रदेश २ मा आइतबारसम्म ५ सय ७९ जना कोरोना भाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब परिक्षण गरिएको छ ।

ती मध्ये ४ जनाको रिपोर्ट यसअघि नै पोजेटिभ देखाइसकिएको छ भने ५ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रदेशमा कोरोना संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार ६ सय २२ बेड क्षमताको १ सय ६३ वटा क्वारेन्टाइनमा १ हजार २ सय ३८ जना शंकास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेशभरिमा अहिले २ हजार ६५ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय २० बेड क्षमताको आईसोलेसनमा २१ जना भर्ना रहेको उनले बताए ।

सचिव घिमिरेका अनुसार रौतहटमा ६ सय ५ बेड क्षमताको १५ वटा क्वारेन्टाइनमा अहिले १ सय ९० जना रहेका छन् भने १ सय ७८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । रौतहटमा ३५ बेड क्षमताको आईसोलेसनमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ ।

त्यस्तै बारामा ४ सय ३९ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय ८९ जनालाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ वटा आईसोलेसन बेडमा अहिले २ जना शंकास्पद बिरामी रहेको घिमिरेले जानकारी दिए । बारामा अहिले १ सय ७१ जना होम क्वारेन्टाइनमा छन् ।

पर्सामा ४ सय ८८ बेड क्षमताको १६ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ २ सय ५२ जना क्वारेन्टाइनमा र १ सय २१ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको बिभिन्न ठाउँमा रहेको ३० बेडको आईसोलेसनमा अहिले ४ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

सप्तरीमा ६ सय १५ बेड क्षमताको ३२ वटा क्वारेन्टाइनमा अहिले १ सय ७९ जनालाई निगरानीमा राखिएको छ भने १ सय ४९ जना होम क्वारेन्टाइनमा छन् । सप्तरीमा रहेको १३ वटा आईसोलेसन बेडमा अहिले ३ जना शंकास्पद बिरामी भर्ना रहेको उनले बताए ।

सिरहामा २ सय ५८ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ९९ जना र होम क्वारेन्टाइनमा १ सय ७९ जना रहेका छन् । त्यस जिल्लामा ४१ बेडको आईसोलेसन रहेकोमा त्यहाँ अहिले ४ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

धनुषामा ३ सय ६२ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय १६ जनालाई राखिएको उनले जानकारी दिए । यस जिल्लामा १ सय २९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइसोलेशन रहेकोमा त्यहाँ ८ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

त्यस्तै महोत्तरीमा ३ सय ८८ बेड क्षमताको १९ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिले ६ सय ८७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ८५ जनालाई राखिएको छ । महोत्तरीमा २६ बेडको आईसोलेसन रहेपनि अहिले ति आईसोलेशनमा कुनै शंकास्पद बिरामी नरहेको उनले बताए ।

सर्लाही जिल्लामा ४ सय ६७ बेड क्षमताको ३० वटा क्वारेन्टाइनमा अहिले १ सय २८ जना रहेका छन् भने ३ सय ९८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । १५ वटा आईसोलेशन बेड रहेपनि अहिले त्यसमा कुनै शंकास्पद बिरामी भर्ना नरहेको बताइएको छ ।

प्रदेश २ मा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ८ जना, महेन्द्र गेनाई अस्पताल सिरहामा ४ जना, सिमरास्थित अस्थायी उपचार केन्द्रमा २ जना, राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ३ जना र वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ४ जना गरि जम्मा २१ जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्