ह्वात्तै महँगियो सुन, डलर कमजोर हुँदा लगानीकर्ता सुनतिर झुम्मिए



काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा डलरको अवस्था कमजोर बन्दै गएपछि पछिल्लो एक हप्तामा सुनको भाउ प्रति तोला ११ सय रुपैयाँले बढेको छ। मंगलबार पनि प्रतितोला १०० रुपैयाँले बढेर ६२ हजार ६ सय रुपैयाँमा काराोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

त्यस्तै प्रति १० ग्राम ५३ हजार ६७० रुपैयाँमा कारोबार भएको छ। सुनसँगै चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ७८५ रुपैयाँमा कारोबार भएको छ। एक वर्षको अवधिमा चाँदीको भाउ भने अधिकतम ८०० रुपैयाँ सम्म पुगेको महासंघले जनाएको छ।

 

पछिल्लो समय चीन र अमेरिकाको ट्रेड वारले गर्दा लगानीकर्ता सुनमा आकर्षित भएका छन्। अन्तर्राष्ट्रिय बजारमा शेयरको बजार पनि गिरावट हुने क्रममै रहेको छ। डलर र शेयर बजारमा गिरावट आएसँगै लगानीकर्ता सुनमा आकर्षित भएकाले सुनको भाउ बढेको हो।

 

सुनको भाउ २०७० भदौ १२ गतेको सबैभन्दा अधिकतम मूल्यलाई भेट्ने क्रममा रहेको छ। पाँच वर्षअगाडि सुनको भाउ सबैभन्दा धेरै ६३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 

यहि क्रममा सुनको भाउ बढिरहेका उक्त मूल्य भन्दा माथिमा कारोबार हुने देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा अझै डलरमा सुधार आउने संकेत नदेखिएको हुँदा सुनको भाउ बढ्ने आकलन गरिएको हो।  

 

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको कारोबार प्रति औन्स १३१२ डलरमा कारोबार भैरहेको छ। मंगलबार प्रति औन्स ४.३२ डलरले गिरावट आएको छ। एक हप्ताको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति ‍औन्स ४० डलरले बढेको थियो।

 

लगातार ४० डलरले बढेपछि सोमबार र मंगलबार भने घटेको छ।

प्रतिक्रिया दिनुहोस्