मन्त्रीको खुलासा : कमीसनका लागि उपकरण खरिद



ललितपुर : स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले धेरै सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा आवश्यकै नभएका करोडौं रुपैयाँका उपकरण खरिद गरी थन्क्याएर राखेको खुलासा गरेका छन् । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल अुर्बदरोग निवारण संस्थाले ललितपुरमा गरेको कार्यक्रममा राज्यमन्त्री डा. यादवले कमीसन पाउनकै लागि धेरै उपकरण किनिएको तर उपयोगमा नभएको बताए ।

‘कमिसन पाउनकै लागि धेरै उपकरण किनिएका छन्’, उनले भने, ‘तर ती उपकरण प्रयोगमा आएका छैनन् । त्यसैले स्वास्थ्यमा जति बजेट आए पनि पुग्नेवाला भने छैन ।’उनले स्वास्थ्यमा आउने धेरै बजेट दुरुपयोग हुँदै आएको उल्लेख गर्दै स्वास्थ्यमा जति बजेट आउ पनि पुग्नेवाला नभएको खुलासा गरे ।

१६ प्रतिशत बजेट भए क्यान्सर उपचार निःशुल्क

यादवले बजेटको १६ प्रतिशत स्वास्थ्यले पाए स्वास्थ्य उपचार पूर्ण निःशुल्क गर्न सकिने बताएका छन् । यादवले संविधानमै स्वास्थ्य र शिक्षा निःशुल्क हुने उल्लेख गरे पनि त्यसलाई लागू गर्न बजेट कम भएको बताएका हुन् । कार्यक्रमका सहभागीहरुले क्यान्सर उपचार महँगो भएकाले सरकारले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका थिए । संविधानले नै स्वास्थ्य र शिक्षा निःशुल्क भएको र मुलुक समाजवादउन्मुख भनिएकाले समाजवादी देशमा स्वास्थ्य र शिक्षा राज्यको दायित्व हुने भन्दै क्यान्सर उपचार निःशुल्क गर्न उनीहरुले राज्यमन्त्री यादवको ध्यानाकर्षण गरेका थिए ।

प्रत्युत्तरमा राज्यमन्त्री यादवले भने, ‘घोषणामात्रै गर्ने हो भने स्वास्थ्य मन्त्रालयले सम्पूर्ण उपचार निःशुल्क भन्न पछि पर्दैन तर घोषणाले मात्रै जनताले निःशुल्क स्वास्थ्य उपचार पाउँछन् त ? हिजोका सरकारहरुले कति कुरा निःशुल्क भनेका थिए । के आज त्यो कार्यान्वयनमा छन् त ?’देशको कूल बजेटको १६ प्रतिशतमात्रै स्वास्थ्यको लागि छुट्याए सम्पूर्ण स्वास्थ्य उपचार निःशुल्क गर्न सकिने उनले स्पष्ट गरे । तर चालू आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रको लागि चार प्रतिशतमात्रै विनियोजन गरिएको छ ।

स्वास्थ्य करको रकम बाँडफाँटमै गोलमाल

राज्यमन्त्री यादवले सूर्तीजन्य पदार्थमा लगाइएको स्वास्थ्य करमात्रै स्वास्थ्य मन्त्रालयले पाउने हो भने पनि क्यान्सर उपचार निःशुल्क गर्न सकिने बताएका छन् ।

अर्थ मन्त्रालयले उक्त करको रकम स्वास्थ्य मन्त्रालयलाई नदिने बताए । उनले भने, ‘स्वास्थ्य करको रकम बाँडफाँटमै गोलमाल छ । समाज कल्याण परिषद्मा दर्ता भएका गैससले स्वास्थ्य करको बजेट लैजान्छन् ।’

पाँच वर्षले स्वास्थ्य मन्त्रालय बुझिँदै

राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्र बृहत् भएको र पूरा मन्त्रालय बुझ्न एकजना मन्त्रीको लागि पाँच वर्षले पनि नपुग्ने जिकिर गरे । त्यसमाथि कर्मचारीहरुले मन्त्रीहरुलाई थाहा नै नदिने उनको भनाइ थियो । ‘स्वास्थ्य क्षेत्रमा धेरै विधा छन् । दाताहरुले पनि उत्तिकै सहयोग गरिरहेका छन् । मन्त्रीहरुलाई थाहा नै हुँदैन स्वास्थ्यका कुन–कुन शीर्षकमा बजेट आउँछन् । कसकसलाई बजेट बाँडिन्छन् भनेर’, उनले थपे, ‘त्यसमाथि कर्मचारीहरुले मन्त्रीहरुलाई सबै कुरा बताउँदैनन् । त्यसैले सबै कुरा थाहा पाउन एकजना मन्त्रीको लागि पाँच वर्ष पनि धेरै कम हो ।’

अर्थले बजेट दिँदैन

उनले अर्थ मन्त्रालयबाट बजेट पाउन नै धेरै पापड बेल्नुपर्ने सुनाए । ‘स्वास्थ्यको लागि बजेट माग्दा अर्थले उक्त बजेट उपलब्ध गराएवापत के फाइदा हुन्छ भनी प्रश्न सोधिन्छ’, राज्यमन्त्री यादवले भने, ‘अर्थमन्त्रीले बजेट भाषण गर्दा प्रत्येक गाउँपालिका तथा नगरपालिका १५ शैय्याको अस्पताल खोल्ने भन्छ तर बजेट माग्दा के फाइदा हुन्छ भन्नुको अर्थ के हो ?’ तैपनि राज्यमन्त्री यादवले ठूला पाँचवटा अस्पताललाई पाँचसय शैय्यामा स्तरोन्नति गर्ने प्रक्रियामा मन्त्रालय रहेको सुनाए । ती अस्पताललाई शिक्षण संस्थाको रुपमा विकास गरै त्यसैबाट आत्मनिर्भर बनाउने मन्त्रालयको लक्ष्य रहेको उनले जानकारी दिएको खवर अन्नपुर्णमा छ ।

प्रतिक्रिया दिनुहोस्