अर्थतन्त्रमा समस्या, अर्थ मन्त्रालयमा गम्भीर बैठक



काठमाडाैं: बैंकमा तरलता अभाव, ब्याजदर 

वृद्धि, व्यवसायीको आन्दोलन र विदेशी लगानी तथा अनुदानमा आएको गिरावटबारे अर्थ मन्त्रालयले राष्ट्र बैंक तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको पहलमा मंगलबार बसेको आकस्मिक बैठकले समस्या समाधानका लागि गम्भीर छलफल गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरद्वय र अन्य पदाधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल बैंकर्स संघका पदाधिकारीलाई बोलाएको थियो । बैठकमा निजी क्षेत्रका प्रतिनिधिसँग सुझाब माग्दै अर्थमन्त्रीले समस्या समाधान गर्न निर्देशन दिएको अर्थ मन्त्रालयका सल्लाहकार रामशरण खरेलले जानकारी दिए । 

यसैबीच, बैंकहरूले ब्याज बढाएको विरोधमा सुर्खेत उद्योग वाणिज्य संघले बैंक बहिष्कार गर्ने निर्णय गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलका अनुसार बैंकहरूले अनियन्त्रित ढंगले ब्याज बढाएको विरोधमा माघ २४ गते सम्पूर्ण उद्योगी व्यवसायीहरूले कुनै पनि बैंकिङ कारोबार नगर्ने भएका छन् । सो दिन वीरेन्द्रनगरमा व्यवसायीले ब्याज बढाएको विरोधमा -यालीसमेत प्रदर्शन गर्ने उनले बताए । 

 अर्थमन्त्रीले भने, ‘आन्तरिक  स्रोतले मात्र समस्या सुल्झिँदैन’

आन्तरिक स्रोतको परिचालनले मात्र उच्च आर्थिक वृद्धिदर हासिल हुँदैन । त्यसैले बाह्य स्रोत परिचालन र प्रवद्र्धनमा समेत ध्यान दिनुपर्छ । त्यसलाई सहजीकरण गर्न म सबै सरोकारवालालाई निर्देशन दिन्छु । राष्ट्र बैंकले छोटो अवधिका लागि मात्र नभई दीर्घकालीन रूपमा लगानीको वातावरण तयार गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरू औद्योगिक प्रवद्र्धनमैत्री बन्नुपर्छ र समयसापेक्ष साधन परिचालन गर्नुपर्छ । वित्तीय संस्थाले सेवा र व्यवहारमुखी भएर लगानी गर्नुपर्छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्