लकडाउनमा सक्रिय एकल महिला समूह



काठमाडौं : घरबाट बिहान ११ बजेतिर बुढानिलकण्ठ नगरपालिकास्थित एकल महिला छहारी भवन पुग्छिन्, लिली थापा । दिनभर खाद्यान्न जुटाउँछिन् । खाना पकाउँछिन् । साँझ परेपछि विपन्न तथा गरिब परिवारलाई निःशुल्क भोजन गराउँछिन् । एकल महिला समूह नेपालकी संस्थापक अध्यक्ष उनी पछिल्लो समय लकडाउनले यस्तै दैनिकी बनाएकी छन् ।

यसमा सारथी बनेका छन्, एकल महिला समूहका सदस्य, भुपु सैनिक, स्वयंसेवक र मनकारी दाताहरु । ७७ वटै जिल्लामा संगठित समूहमध्ये २० जतिले लकडाउनले गर्दा खान नपाएकाहरुलाई खाद्यान्न, राहत र निःशुल्क भोजन गराउँदै आएको छ ।

लकडाउनका सुरुवाती दिनमा समस्यामा परेका एकल महिला, हिंसामा परेका महिला, वृद्धवृद्धा, मजदुरी तथा विपन्न महिला तथा वृद्धवृद्धा र असहायलाई राहत बाँडेका थिए । ‘राहतको चामल सकियो, पैसा सकियो, पकाएर खाने ठाउँ भएन, ग्यास सकियो भन्ने थुप्रै भेट्यौं, राहत भन्दा खाना नै पकाएर खुवाउन उचित ठानेर निःशुल्क भोजन गराइरहेका छौं,’ थापाले भनिन् । सातायता आफैले खाना पकाएर भोकाहरुलाई खुवाउन थालेकी छन् ।

कोरोना महामारीका कारण सर्वसाधारणहरु घर बाहिर निस्कन डराएका छन् । धेरैजसोलाई लकडाउन अवधि कसरी बिताउने चिन्ता छ । अधिकारकर्मी थापा र उनको समूहलाई भने सहयोग गर्न र जुटाउन भ्याइनभ्याइ छ । उनीहरु सक्दो ‘सेफ्टी’ अपनाएर भोका मानिस खोज्दै टोल–टोल, घर–घर चहार्छन् ।

थापा आफूसहित परिवारको सुरक्षामा पनि संवेदनशिल छिन् । दिनभर काम गरेर बेलुकी घर फर्केपछि अलग्गै बस्छिन् । ‘बाहिर–बाहिर हिँडिरहेको छु, २१ दिन भयो, नातीनतेना नभेटेको, बिरामी आमालाई समेत भेटेको छैन, छोराछोरीले नहिँड्नु भनेर गाली गर्छन्,’ थापाले भनिन्, ‘कसैले फुको चिउरा खाइरहेका थियौं, कसैले धेरैदिनपछि तातो भात खान पायौं भन्छन्, पकाएर खान दिँदा आनन्द लाग्छ, हिम्मत गरेर खटिरहेका छौं।’

छहारी भवनमा लकडाउन अवधिभर बेलुकी ५ देखि ७ बजे सम्म भोजनको व्यवस्था मिलाइएको छ । नजिकै बसोबास गर्ने ८० जतिले भवनमै आएर खान्छन् । सबै काममा सामाजिक र भौतिक दूरी कायम गरिएको छ ।

यहाँ दैनिक १५ सय केजी चामल, ८० केजी दाल, तरकारी खपत हुन्छ । यी सबै मनकारी दाताहरुको सहयोग छ । मच्छेगाउँमा एकल महिला समूह अध्यक्ष शान्ती महर्जनको टोलीले तरकारी र पानी संकलन गरेर सहयोग पुर्‍याइरहेको छ । पोखराका एकल महिलाले आर्थिक संकलनमा सहयोग गरिरहेका छ । उपत्यका बाहिर रहेका एकल समुहहरुले काठमाडौंमा आफ्ना आफन्तहरुलाई सम्पर्क गरेर खाद्यान्न सहयोग गरिदिन समन्वय गर्छन् ।

यसैगरी, नेपालगञ्जको एकल महिला समूहले उपमहानगरपालिकाका २३ वटै वडामा एकल महिलाहरुको खोजी गरी राहतका लागि समन्वय गरिदिएको छ । ‘एकल महिला राहत लिन कहाँ जाने, कसरी लिने थाहा पाइरहेका हुँदैनन्, उनीहरुलाई खोजेर घर–घर राहत पुर्‍याउन सहयोग गर्‍यौं,’ एकल महिला समूहकी उपाध्यक्ष शोभा बिसीले भनिन् । समूहले दसगजा र नेपालगञ्जका विभिन्न ठाउँको क्वारेन्टाइनमा रहेका ३२८ जनालाई एकदिनको खाजा खुवाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्