सात प्रदेशका प्रहरी प्रमुख फेरिए, कुन प्रदेशको प्रमुख को ?



प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा भएका १० प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

नेपाल सरकार, मन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार बढुवा भएका उनीहरुलाइ आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिन्ह प्रदान गरे ।

डिआइजीमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी बढुवा भएका हुन् ।

गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वको सिफारिस समितिले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

बढुवा गरिएकाहरुमध्येबाट ७ जनालाई सात प्रदेश प्रमुखको जिम्मेवारी समेत प्रदान गरिएको छ ।

जसमा ७ जना डीआईजीलाई ७ वटा प्रदेशका जिम्मेवारी दिइएको हो ।

जसमा प्रदेश १ मा ईश्वरबाबु कार्की, प्रदेश २ मा धिरजप्रताप सिंह, बाग्मती प्रदेशमा वसन्त लामा ,गण्डकी प्रदेशमा घनश्याम अर्याल र प्रदेश ५ मा रविन्द्र धानुकलाई प्रदेशको नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो ।

त्यसैगरी कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदीलाई पठाइएको छ ।

यसैगरी, बढुवा भएका डीआईजी सहकुलबहादुर थापाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व पाएका छन् ।

यस्तै, डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरोको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्