यस्तो छ केरुङ–काठमाडौं रेलमार्गको प्रगति



काठमाडौं:  केरुङ –काठमाडौं रेलमार्गको काम सुस्ताएको छ । सरकारले उच्च प्राथमिकतामा राखेको रेलमार्गमध्येको सो रेलमार्गको प्रगति सुस्त भएको हो ।सरकारले गत मंसिरमा चिनियाँ टोलीले नेपाल सरकारलाई प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाए यता रेलमार्गको थप प्रगति भएको छैन ।

नेपाल र चीनबीच तेस्रो पटकसम्म बैंकठ बस्दा पनि भौतिक रूपमा भने ठोस प्रगति भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली दुई वर्षअघि प्रधानमन्त्री हुँदा चीनसँग भएका रेलदेखि तेलसम्मका १० बुँदे सम्झौताअन्तर्गतको रेलमार्ग प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने भनिए पनि सोहीअनुसार केरुङ–काठमाडौं रेलमार्गको प्रगति भने हुन सकिरहेको छैन । रेल विभागका प्रवक्ता अमन चित्रकारले भने, ‘अहिले केरुङ–काठमाडौं रेलमार्गको खासै काम भएको छैन ।’ चीनमा हुने आगामी चौथो बैठकमा सो रेलमार्गबारे रोडम्यापसहित छलफल हुने प्रवक्ता चित्रकारले बताए ।

गत जेठमा चीन सरकारको प्राविधिक टोली केरुङ–काठमाडौं रेल मार्गको सम्भाव्यता अध्ययन गरी फर्किएको थियो । चिनियाँ प्राविधिक टोलीले काठमाडौंदेखि नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)– केरुङसम्मको अध्ययन सम्भाव्यता पूरा गरेको थियो । सो प्राविधिक टोलीले एक साताको अवधिमा गरेको पूर्व सम्भाव्यता अध्ययनबाट काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थासहितको प्रतिवेदन तयार पारेको थियोे । यसअघि चिनियाँ रेल प्रशासनको उच्चस्तरीय टोलीले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यताको अध्ययन गरेको थियो । त्यो अध्ययनमा केरुङबाट रसुवागढी–त्रिशूली–काठमाडौंसम्म रेल सञ्चालन सहज हुने बताइएको थियो ।

त्यस्तै, गत असार पहिलो साता प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच रेल सञ्चालनबारे छलफल भएको थियो । यसअघि चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले केरुङ–काठमाडौं रेल परियोजना अनुदानमा बनाइदिन आग्रह गरेका थिए । सरकारको नीति तथा कार्यक्रम र बजेटमा पनि रेल सञ्चालन प्राथमिकता परेको छ । तर, प्राथमिकताअनुसार काममा प्रगति भएको छैन ।

त्यस्तै, भदौमा नेपाल आएका सात सदस्यीय चिनिँया प्राविधिक टोलीले टोखामा रेल मार्ग निर्माण गर्न आवश्यक अध्ययन गरेको थियो । सो टोली नुवाकोट पुगेर कुनकुन ठाउँमा स्टेसन राख्न सकिन्छ भन्ने विषयमा गरेको थियो । साथै काठमाडौंदेखि केरुङसम्म विभिन्न स्थानमा रेल सञ्चालन सभ्यताबारे अध्ययन भएको थियो ।

केरुङदेखि काठमाडौंसम्मको रेलमार्गको लम्बाइ करिब ७२ किमि लामो हुनेछ । सो रेलमार्ग करिब ९० प्रतिशत सुरुङ र पुलमा बनाउनुपर्ने विभागले जनाएको छ । विभिन्न समयमा मन्त्री तथा सरकारी टोलीले चीन भ्रमणमा रेललाई महŒवपूर्ण एजेन्डा बनाइएका थिए । नौ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजना रहेको सो रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

सरकारले आगामी २० वर्षभित्र ४ हजार किलोमिटर रेल सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य पूरा गर्न आगामी १० वर्षभित्र १ हजार ५ सय किलोमिटर र आगामी पाँच वर्षभित्र ७५० किलोमिटर रेल सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्