‘हामी करोनाविरुद्धको लडाइमा विजयी हुन्छौँ’



काठमाडाैं : करोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण, सन्त्रास एवं लकडाउनका कारण अहिले नेपाल मात्र  नभई  पुरै विश्व आक्रान्त बनेको छ । महामारीको रूपमा फैलिँदै गरेको यो  भाइरसको सङ्क्रमणबाट जोगिन अहिले विश्व नै लागिपरेको  भएता पनि यस माथि विजय हासिल गर्न सकिरहेका छैनन् । यसले अझ सङ्क्रमित तथा  मृत्यु हुनेको सङ्ख्यामा निरन्तर बढ्दै जानु   सबैको लागि  टाउको दुखाइको विषय बनेको छ । 

चीनको वुहान शहरबाट शुरु भएको भाइरस अहिले विश्वको २ सय १० देश तथा भूभागमा फैलिसकेको छ । चीनले  यसमाथि विजयी हासिल गरिसकेको  दाबी गरेता पनि विश्वका अन्य मुलुकहरूमा भने तीव्ररुपमा फैलिरहेको छ ।

अमेरिका, स्पेन , फ्रान्स लगायत विश्वका विकसित देशहरू समेत  यो महामारीबाट अछुतो रहन सकेका छैनन् ।

नेपालमा पनि यो रोगबाट सङ्क्रमित बिरामीहरूको सङ्ख्यामा लगातार वृद्धि भइरहेकाले नेपाल कोरोनाको उच्च जोखिममा रहेको कुरामा कुनै दुई मत छैन । अझ नेपालको छिमेकी राष्ट्र भारतमा यस रोगको सङ्क्रमण दर तीव्र रूपमा बढ्दै जानु र नेपाल–भारत सीमाना खुला हुनुले पनि भोलिको दिनमा नेपालको लागि थप जटिलता सृजना हुन सक्ने कुरालाई नकार्न सकिँदैन। तसर्थ भोलिको दिनमा आउन सक्ने चुनौतीहरूलाई मध्यनजर गर्दै नेपाल सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ।

आज हामी लकडाउनमा बसेको चौथौँ  हप्ताको अन्तिम तिर  छौ । यति गर्दा गर्दै पनि सङ्क्रमितको सङ्ख्या बढ्दै जानु र  विदेशबाट आउने कोरोना सङ्क्रमितबाट नेपालका  अन्य सर्वसाधारणहरूमा यो भाइरस सर्नु  वास्तवमै ठूलो चिन्ताको विषय हो । सायद सरकारले सङ्क्रमणको सुरुवाती अवस्थामै  सीमा नाका तथा  हवाईअडाहरुमा कोरोना जाँच गर्ने व्यवस्था गरी कडाइका साथ लागु गर्दै  जनतामाझ कोरोनासँग सम्बन्धित  सूचनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सकेको भए यो  समस्या यहाँ  सम्म बढ्ने  थिएन होला ।

हालसम्म नेपालमा ४२ जना कोरोना सङ्क्रमितमध्य  पाँच जना निको हुनु सुखद कुरा हो । 

सरकारले लागु गरेको लकडाउन तथा नेपाली जनताले त्यसलाई कार्यान्वयन गर्न  सहयोग गरेकै कारण अरू देश जस्तो यहाँ धेरै  व्यक्तिहरू  प्रभावित भएका छैनन् । यद्यपि लकडाउनका कारण नेपालको उद्योग, कलकारखाना, शिक्षण संस्था, यातायात, गैरसरकारी, सरकारी लगायतका क्षेत्रहरू  प्रभावित भएका छन् । कतिपय पूर्णरूपमा बन्द भइसके  त कतिपय आंशिक रूपमा बन्द हुने क्रममा छन् । देशको धेरै जसो आर्थिक क्षेत्रहरू  पूर्णरूपमा ठप्प रहनुले देशको अर्थतन्त्रमा अतुलनीय  असर पर्ने निश्चित नै छ ।

मुलुकको उद्योग, कलकारखाना लगायतका क्षेत्र बन्द भएपछि त्यसको प्रभाव गरिब, मजदुर, श्रमिजिवि, असहाय तथा निमुखा व्यक्तिहरूमा अत्यधिक परेको छ । सङ्घीय सरकारले लकडाउनको घोषणा गरेसँगै यस्ता समुदाय एवं वर्गलाई राहत दिने काम पनि  नभएको भने होइन तर त्यो अपुग छ । त्यसमाथि  कतिपय स्थानीय सरकारका प्रमुखहरुनै यस्तो दुखद घडीमा  पनि  भ्रष्टाचार, अनियमितता तथा कालोबजारी जस्ता गतिविधिमा लागिपरेको समाचार बाहिर आउनाले जनतामा झन्  निराशा छाएको छ।  

यसैबीच कतिपय स्थानीय सरकारका प्रमुखहरू पीडितको पीडालाई मलहम लगाउने काम पनि गरिरहेका छन् । जसमा सर्लाही  हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँलाई प्रतिनिधि पात्रको रूपमा लिन सकिन्छ जसले नगरबासीको पीडालाई आफ्नै पीडा सम्झेर सकेसम्म सहयोग गरिरहेका छन् । नगर प्रमुख प्रसाईँले आफ्नो नगरमा कोरोनासम्बन्धी सचेतनामूलक कामका साथै राहत वितरणलाई प्रभावकारी रूपमा अघि बढाउन सफल भएकाले  प्रदेश न २ मै बधाईको पात्र बनेका हुन् । क्वारेन्टाइनको व्यवस्था, राजमार्गमा भोक भोकै हिँडिरहेका बटुवाहरूलाई निःशुल्क खानाको व्यवस्था, नगरभित्रका सबै वडामा दैनिक स्वास्थ्य चेक जाँच गर्ने व्यवस्था, प्रभावकारी रूपमा राहत सामग्री वितरण आदि उक्त  क्षेत्रमा  गरिएको महत्त्वपूर्ण कामहरू  हुन् ।

त्यस्तै यदि कसैलाई खाद्यान्नको अभाव भएमा वा उसले खरिद गर्न नपाएमा वडा अध्यक्षमार्फत जानकारी गराएमा नगरको तर्फबाट घरमै खाद्य सामाग्री ढुवानी गर्ने व्यवस्था प्रसाईँले गराएका छन् । कसैले स्वास्थ्य सम्बन्धी जानकारी लिनु पर्‍यो वा कसैलाई स्वास्थ्यमा  समस्या परेमा २४ सै  घण्टा सेवा दिने गरी तुरुन्तै घरमा पुग्ने क्विक  रेसपोन्स टिमको गठन गरी घर घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने काम समेत भइरहेको देखिन्छ । कसैलाई उपचार  पश्चात् पनि ज्वरो कम नभएमा नगरपालिकाले निःशुल्क रूपमा एम्बुलेन्स मार्फत सम्बन्धित हस्पिटलमा पठाउने व्यवस्था  गरेको छ । साथै अध्ययनका लागि यस नगरमा बस्दै आएका  बाहिरका विद्यार्थीको लागि समेत नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई राहतको व्यवस्था गरेको छ ।

उता रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले  पनि नगरबासीको समस्या समाधान गर्नमा आफू खप्पिस रहेको प्रमाणित गरेकी छन् । जस्तो सुकै ठुला समस्यालाई पनि बडो सुझबुझसँग समाधान गर्न खप्पिस शाह  प्रदेश न २ को एक मात्र महिला मेयर हुन्।

त्यस्तै कोरोना नियन्त्रण अभियानमा  दक्षताका साथ कार्यसम्पादन गर्न सफल व्यक्तिहरूको नाम लिँदा छुटाउनै नहुने अर्को नाम हो मनोज देवकोटा । हाल इश्वोरपुर नगरपालिकामा नगर प्रमुखको रूपमा कार्यरत देवकोटाले कोरोना  नियन्त्रण कोष नै  निर्माण गरी सम्पूर्ण नगरवासीलाई राहत सामाग्री वितरण गर्दै आउनु भएको छ। साथै इश्वोरपुर नगरपालिकाद्वारा कोरोना शङ्कास्पद  बिरामीलाई राख्नको लागी आवश्यक क्वारेन्टाइनको समेत व्यवस्था गरिएको छ।

यो समय  मानव समुदायको लागि दुखद घडी हो । यस्तो विषम परिस्थितिमा  सबै राजनीतिक दलहरूले  व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दामाथि उठी केवल नेपाली भई यो लडाइँमा सहभागिता जनाउन सक्नुपर्छ तब मात्रै सरकारले देशलाई यो सङ्कटबाट मुक्त गर्न सफल हुनेछ । यदि सबै नेपाली जनताले आ -आफ्नो ठाउँबाट कोरोना नियन्त्रण अभियानमा हातेमालो गर्दै अघि बढ्ने हो भने हामी विजयी हुनेमा कुनै दुई मत नै छैन ।

अहिले हामी लकडाउनमा छौँ । भोलि  भयावह र विकराल  स्थितिको सामना गर्नुभन्दा आजको असहजता अर्थात् घरभित्र बसेर लडिने युद्ध नै जाती हैन र ? थोरै असहजतामा हामीले आत्म अनुशासन र संयम गुमायौ भने भोलि आउने विकराल स्थितिको  कारक हामी आफै बन्ने छौ ।

बाँच्न पाए सिङ्गो संसार रहन्छ  त्यसैले आफ्नो कर्तव्य र दायित्व सम्झेर कोरोना मुक्त बन्न राज्यलाई आ -आफ्नोतर्फबाट सहयोग गरौँ  । आज सम्पूर्ण मानवको बाँच्न पाउने हक सुरक्षित गर्न हामी  अनुशासित हुन जरुरी छ । हामीले अनुशासित भएर लकडाउनको  पूर्णरूपमा पालना  गर्‍यौ भने मात्र कोरोना माथि विजय प्राप्त गर्न  सकिने छ ।

प्रतिक्रिया दिनुहोस्