सरकार ! मे १ अर्थात मजदुर दिवस आउँदैछ



काठमाडौं : वैशाख महिनाको टण्टलापुर घाम । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाबाट पृथ्वीराजमार्गमा मध्याह्नको चर्को घामले तातिएको सडकमा पैताला खियाउँदै, पसिना बगाउँदै हिँडिरहेका यी मजदुरको लावालस्कर तराई झरेका मजदुरका पीडा शब्दमा लेख्न र भावमा अनुभूति गर्न सायद कठिन छ ।

चीनको वुहान शहरबाट शरु भएको कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि ३० दिनदेखि नेपाल लकडाउनमा छ । सरकारले अत्यावश्यक सवारी साधानबाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको छ । कोरोनाबाट जनतालाई बचाउन सरकारले आफ्ना नागरिकलाई अतिआवश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गर्दै आइरहेको छ ।

तर, लकडाउन लम्बिँदै जाँदा दैनिक ज्यालादारी गरेर आफ्नो जिविको पार्जन गर्दै आइरहेका मजदुर भने मारमा परेका छन् । उनीहरु रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै उपत्यकाबाट पैदलै हिँडेर भएपनि आफ्नो गाउँ फर्किन बाध्य भएका छन् ।

नेपालको तथ्यांकलाई आधार मान्ने हो भने १५ लाखभन्दा बढी जनसंख्या गरिबीको रेखा मुनि रहेका छन् । त्यस्ता व्यक्तिहरुलाई सरकारले भोकै बस्न नपर्ने र गाउँ जान नपर्ने बताउँदै आएपनि त्यसो हुन भने सकिरहेको छैन ।

सरकारले हरेक वर्ष मे १ मा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरेको छ । तर, यहि मजदुरहरु अहिले आपतमा पर्दा सरकार भने राजनीतिक किचलोमा फस्दै गइरहेको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस आउन ९ दिन बाँकी छ । तर, सरकार यो कोरोना महामारीले मजदुर वर्गमा पर्न गएको असरप्रति चिन्तित हुनुको साट्टो सुकुम्वासी आयोग गठन गर्ने र अध्यादेश जारी गर्ने तिर लिप्त भएको छ ।

विश्वभरका मजदुरहरुले यस दिनलाई आफ्नो महत्वपूर्ण दिवसको रुपमा विभिन्न कार्यक्रमका साथ मनाउँदै आएको देख्दै आएका छौ ।

यता नेपालमा पनि यस दिन विभिन्न श्रमिक संगठन तथा कम्युनिष्ट पार्टीहरुले श्रमिकको नाममा यो दिवस मनाउने गरेका छन् । तर, वास्तविक श्रमिक भने न श्रमिकको नाममा काम गर्ने संघसंगठनले पहिचान गर्न सक्यो न त सरकारले नै । अझ भनौं दुई दशकभन्दा बढी मजदुर संगठनमै बिताएका विष्णु रिमाल समेतको कोरोनाले निम्त्याएको परिस्थितिमा मौन छन् ।

तत्कालिन एमालेका मजदुर संगठन नेपाल ट्रेड युनिय महासंघ (जिफन्टंका पूर्वअध्यक्ष रिमालले चाहे भने लकडाउनबाट सबैभन्दा बढी प्रताडित मजदुर वर्गको उद्धार, राहत र रोजगारीको सुनिश्चितताका लागि जुनसुकै भूमिका खेल्न सक्थे ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहिसकेका रिमालले प्रधानमन्त्रीलाई मात्र होइन, प्रशासनिक निकाय र सुरक्षा अगंलाई दिने सल्लाह–सुझावले देशभरका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई यो महामारीको परिस्थितिमा सुखद परिणामको अनुभूति दिलाउन सक्थे । तर, विडम्बना ! मजदुरहरुले राहतको भारी भन्दा पनि पीडाको भारी बोक्न विवश छन् ।

विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक–मजदुर रोजीरोटीको अनिश्चितताले भएको छ । काठमाडौंसहित देशका मुख्य शहरमा हातमुख जोड्नसमेत धौधौ भएपछि घर फर्किन राजमार्गमा पैदल हिँडिरहेका हजारौं मजदुर सडकमै अलपत्र परेका छन् ।

त्यसोत कम्युनिष्ट आन्दोलनले क्रान्तिको चालक शक्तिको रुपमा श्रमिक वर्गलाई मान्दछ र समाजमा विद्यमान शोषणको जरालाई समूल नष्ट गरी शोषण रहित समाज निर्माण गर्नका लागि श्रमिक वर्गको एकता र बलमा आन्दोलन गरी समाजवादी क्रान्ति गर्ने र उनीहरुकै अधिनायकत्वमा वैज्ञानिक समाजवादी शासन व्यवस्था र समाज स्थापना गर्नुको विकल्प नभएको मार्क्सवादले सिकाएको छ ।

तर, अहिले श्रमिक आन्दोलनले विश्वव्यापी रुपमा शक्तिशाली भएको छैन । तर, उनीहरुमाथिको शोषण नयाँ रुपमा झनझन चर्को हुँदै गइरहको छ । यस्तो अवस्थामा मे दिवसलाई रीत पुर्याउने किसिमले मात्र नभई नयाँ समयमा नयाँ ढङ्गले संगठित गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्